खुला | प्रदेश |

महतोलाई पर्यावरण शहिद घोषणा गर्न माग

लक्ष्मी चौधरी
धनुषा, माघ १९ गते । पर्यावरण अभियानकर्ता दिलीप महतोलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने माग गर्दै युवाहरुले मधेस प्रदेश सरकार समक्ष ज्ञापनपत्र बुझाएका छन् । युवाहरुको समूह यूथ एसोसिएसन अफ नेपालले मंगलबार मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहलाई सो ज्ञापनपत्र बुझाउँदै सो माग गरेको   हो ।

एसोसिएसनका अध्यक्ष राहुलराज यादवको नेतृत्वमा मन्त्री साहलाई ज्ञापनपत्र बुझाएको एसोसियशनले जनाएको छ । यसअघि संघीय सरकारका वन तथा वातावरणमन्त्री रामसहाय यादव सो माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै मन्त्री साहले महतोलाई पर्यावरण शहिद घोषणा गराउन पहल गर्ने आश्वासन दिनुभएको थियो ।

एसोसिएसनका अध्यक्ष यादवसहित मनोहर यादब, सचितानन्द साह, अमीत मण्डललगायतका युवाहरुले ज्ञापनपत्र बुझाएका हुन् । धनुषा जिल्लास्थित मिथिला नगरपालिका ५ श्रीपुरका रामजीवन महतोका २४ वर्षीय छोरा ओमप्रकाश (दिलिप) महतो पर्यावरण अभियानमा सक्रिय रहनुभएको थियो । औरही खोलामा भइरहेको अवैध दोहन रोक्न पुगेका महतोको २०७६ पुस २५ गते हत्या भएको थियो ।