खुला | प्रदेश |

पचास लाखको अक्षयकोष स्थापना गर्दै काँग्रेस

नवीन शिशिर विक
बागलुङ, माघ २० गते । नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर– १ ले ५० लाख रुपियाँको अक्षय कोष स्थापनाको अभियान सुरु गरेको छ । व्यवस्थित पार्टी कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, सदस्यको अभिलेखीकरण तथा लेखन र प्रकाशनको काम नियमित गर्ने उद्देश्यकासाथ कोष स्थापना गर्न लागिएको हो ।

अभियान सुरु भएको एक महिनामा २० लाख रुपियाँ सङ्कलन भएको क्षेत्र नम्बर १ का पार्टी सभापति चण्डीप्रसाद शर्माले जानकारी दिनुभयो । पार्टीमा वैचारिक प्रशिक्षण, पार्टी गतिविधिको प्रचार प्रसारजस्ता काममा अक्षयकोषको ब्याज रकम खर्च हुनेछ । क्षेत्रीय पार्टी कार्यालय व्यवस्थित गर्ने उहाँको भनाइ छ ।

आर्थिक व्यवस्थापन नहुँदा पार्टी गतिविधिमा समस्या परेको हुँदा काँग्रेसलाई माया गर्ने शुभेच्छुकसँग अक्षयकोषका लागि अपिल गरेको सभापति पौडेलको भनाइ छ । कोष सञ्चालनमा आएपछि पार्टी कार्यालय सञ्चालन र अन्य नियमित पार्टी क्रियाकलाप गर्न सजिलो हुनेछ । शुभेच्छुकहरुले स्वतस्फूर्त अभियानमा जोडिएको पौडेलको भनाई छ । काँग्रेस बागलुङले पार्टी कार्यालय भवन निर्माण गर्नेभएको छ ।

भवन निर्माणको लागि जग्गा प्राप्तिका लागि जुटेको छ । अहिलेसम्म काँग्रेस बागलुङको आफ्नै भवन छैन । व्यक्तिको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दैआएको छ । बागलुङका कुनै पनि राजनीतिक दलको आफ्नै भवन छैन । सबै भाडाको घरबाट कार्यालय सञ्चालन गर्दैआएका छन् ।

कोषमार्फत व्यवस्थित कार्यालय, दक्ष कर्मचारी, सदस्यको अभिलेखिकरण, सामाजिक सञ्जाल अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना, प्रभावकारी सञ्चार, प्रशिक्षण, जनता र विकास जोड्ने अभियान सञ्चालन गर्ने उद्देश्य सार्वजनिक गरेको छ ।