खुला | प्रदेश |

नगर कार्यपालिका पुग्ने वडाका सडक कालोपत्रे गरिँदै

गोविन्द शर्मा
बाँके, माघ २० गते । बाँकेको कोहलपुर नगरपालिकामा साविक कोहलपुर गाविसका ७ वटा, रझेना गाविसका ६ वडा र शम्शेरगञ्ज गाविसका २ गरी १५ वडाकै नगर कार्यालय पुग्ने सडक कालोपत्रे गरिनेभएका छन् ।

नगरप्रमुख लुटबहादुर रावतले वडा ६, ७, १३ र १५ दुर्गम वडाको रुपमा रहेको बताउँदै ती वडामा विकास निर्माण प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । कोहलपुर बजारलाई मात्रै हेर्ने हो भने धेरै विकास भएको जस्तो देखिन्छ, नगरप्रमुख रावतले भन्नुभयो, “केही वडा विकासबाट एकदमै पछि परेको छ, सडक जीर्ण अवस्थामा छन् ।” जीर्ण सडकमा नगरपालिकाले कालोपत्रेको योजना अघि बढाएको रावतले बताउनुभयो ।

विकट वडाबाट कोहलपुर नगरपालिकाको कार्यालयमा सहजरुपमा पुग्न नगरपालिकाले हरेक वडा कार्यालयबाट नगर कार्यपालिकाको कार्यालयमा पुग्नेगरी सडक कालोपत्रेको काम सुरु गरेको उहाँको भनाइ छ ।

स्थानीय तहमा जनप्रतिनिधि आउनासाथ गौरवको आयोजनाको रुपमा हरेक वडाबाट नगर कार्यपालिकाको कार्यालयमा पुग्ने सडक कालोपत्रेको काम थालिएको उहाँले बताउनुभयो । हालसम्म करिब २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । कोहलपुरका सबै १५ वडामा गौरवको आयोजनाको रुपमा नगर कार्यपालिका पुग्ने सडकको कालोपत्रे भएको छ । करिब ५ किलोमिटर सडक चालु आ.व.मा निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो ।