कोशीटप्पुबाट आएका अर्नाले गहुँ बाली नष्ट गरे
माला कर्ण
कल्याणपुर, माघ २० गते । सप्तरीको पूर्वी र उत्तरी क्षेत्रमा जंगली जनावर अर्नाले वर्षैनी गहुँबाली नष्ट गर्ने गर्छन् । यस वर्ष पनि हलक्कै बढ्न लागेको गहुँबाली चरेर नष्ट गरेको किसानको गुनासो छ । पछिल्लो समय सप्तरीको कञ्चनरुप नगरपालिकाको ७ र ४ मा कोशिटप्पु वन्यजन्तु आरक्षबाट दिनहुँ आउने अर्नाले खेतमा लगाएको गहुँबालीमा क्षति गरेको किसान विजय चौधरीले बताउनुभयो । चौधरीकाअनुसार एक विघाभन्दा बढी खेतमा लगाइएको गहुँबाली अर्नाले खाएका छन् । टप्पुबाट रातिको समयमा आउने अर्ना र हात्तीले यहाँका किसानले लगाएको बालि नष्ट गर्नेगरेका छन् ।
त्यस्तै, टप्पुबाट आएको अर्नाको एक समुहले वडा ४ का प्रभुलाल पासवानको ४ कठ्ठा, भोला विश्वासको ११ कठ्ठा, महिनारायण चौधरीको ५ कठ्ठा, बलराम चौधरीका २ कठ्ठा र शुभकरण चौधरीको २ कठ्ठामा लगाएको गहँुबाली नष्ट गरेको पीडित किसान महिनारायण चौधरीले बताउनुभयो ।
सो क्षेत्रमा अर्ना र हात्ती आतङ्कका कारण गत चार–पाँच वर्षदेखि किसानहरुले विघौं खेतबारी बाँझो राख्दैआएको बताएका छन् । सम्बन्धित निकायले यसतर्फ ध्यान नदिएको किसानहरुको गुनासो छ । किसानहरुले बिऊ र मल अभावमा खेती गरेपनि जंगली जनावरको नष्ट गर्दा परिसान हुनेगरेको कृषकहरुको गुनासो छ ।