नगरको दमकल बिग्रिँदा छिमेकी देशको भर
लीला झापाली
बिर्तामोड, माघ २१ गते । झापाको मेचीनगरमा दमकल बिग्रिँदा छिमेकी देशको भर पर्नुपर्ने भएको छ । बिहीबार मेचीनगरस्थित जुत्ता फ्याक्ट्रीमा लागेको आगो निभाउन छिमेकी देश भारतको दमकलको भर पर्नुपरेको छ ।
जुत्ता फ्याक्ट्रीमा लागेको आगलागीका कारण साढे करोडको क्षति भएको इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी प्रमुख डिएसपी सुनिलसिंह दाहालले जानकारी दिनुभयो । बिहीबार बिहान साढे ११ बजे विद्युत सर्ट भइ सुरु भएको आगलागी करिब ५ घण्टापछि नियन्त्रणमा आएको थियो ।
स्थानीय श्याम मिन्टुले सञ्चालन गरेको जुत्ता फ्याक्ट्रीभित्र ठूलो मात्रामा इन्धन भण्डारण गरेको कारण ठूलो क्षति भएको स्थानीयको भनाइ छ । आगलागीबाट उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ भने कच्चा पदार्थ जलेको छ ।
आगो स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नेपालका दश र भारतका २ वटा दमकलले नियन्त्रणमा लिएको प्रहरी प्रमुख दाहालले बताउनुभयो ।