सल्यानमा चट्याङ लाग्दा एक जनाको मृत्यु
प्रतीक इच्छुक शर्मा
सल्यान, माघ २१ गते । सल्यानमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–७ लामसराकी ४० वर्षकी रामकली कामीको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । गएराति घरको भान्साकोठामा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना बिहीबार साँझको भए पनि शुक्रबार बिहान मात्र प्रहरीलाई स्थानीयले खबर गरेका थिए । जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता अर्जुन पौडेलले घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यलयबाट प्रहरी टोली खटिएको बताउनुभयो । उहाँका अनुसार घटनास्थल सदरमुकामबाट ५३ किलोमिटर पश्चिम उत्तरमा पर्छ ।