खुला | प्रदेश | पर्यटन |

गुल्मीको पवित्र धार्मिकस्थल रेसुङ्गामा हिमपात

तिलाचन पाण्डे
तम्घास, माघ २१ गते । गत पुस १५ गते रेसुङ्गामा हिँउ परेपश्चात् गए रातीदेखि परेको हिउँदे वर्षाका कारण गुल्मीको पवित्र धार्मिकस्थल रेसुङ्गामा फेरि हिमपात भएको छ । हिमपात हेर्न सदरमुकाम तम्घासदेखि रेसुङ्गामा युवाहरु मोटरसाइकल र गाडी लिएर अवलोकन गर्न गएका छन् ।

पटक पटक रेसुङ्गामा हिँउ पर्दा आन्तरिक पर्यटकहरु बढेको र हिँउ पर्दा आन्तरिक पर्यटकहरु बढ्नु गुल्मेलीहरुका लागि खुसीको कुरा भएको हिँउमा खेल्न पुग्नुभएका स्थानीय महेन्द्र पोखरेलले बताउनुभयो । हिमपात पश्चात् चिसोका कारण गुल्मीको जनजीबन कष्टकर बनेको छ ।

चिसो बढेपछि तम्घास बजारका चोक चोकमा आगो बालेर स्थानीयहरु ताप्न थालेका छन् । चिसो छल्नका लागि आगो बालेर ताप्न थालेको यहाँका स्थानीयहरुले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले चिसोबाट बच्नका लागि नागरिकहरुलाई आग्रह गरेको छ ।

चिसो समयमा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरुलाई विशेष ख्याल गर्न प्रशासनले आग्रह गरेको छ । यस समयमा शरीर तातो हुनेखालका खानेकुराहरु खान र न्यानो कपडा लगाउन प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले आग्रह गर्नुभयो ।

काठ दाउरा बालेर आगो ताप्दा र तापजन्य विद्युतीय सामग्रीको प्रयोग गर्दा सजगता अपनाउन पनि प्रशासनले अनुरोध गरेको छ । आगो ताप्दा र विद्युतीय हिटरको प्रयोग गर्दा प्रर्याप्त भेन्टिलेसन भएको कोठामा सहज अक्सिजन आपूर्ति हुनेगरी सावधानी अपनाउन र सुरक्षित रहन प्रशासनले आग्रह गरेको हो ।
गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले चिसोको समयमा बालबालिका, बृद्धबृद्धा, दीर्घरोगीहरुलाई बढी असर गर्ने भएकाले बिशेष ख्याल गर्न आग्रह गर्नुभयो । यस समयमा न्यानो कपडाको प्रयोग गर्न र खानपानमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । तातो झोलिलो पदार्थको खानेकुरा खान र केही समस्या भएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।