बाक्लो हिमपातले कालीकोटका बस्ती सेताम्मे
प्रेमराज सिम्खडा
कालीकोट, माघ २१ गते । लगातारको वर्षापछि कालीकोटमा तेस्रो पटक हिमपात भएको छ । पहिलो र दोस्रो पटक लेकाली क्षेत्रमा मात्र हिमपात भएको थियो । यसपालि जिल्लाका अधिकांश बस्ती हिमपातले सेताम्मे भएका छन् । हिमपातले सदरमुकाम मान्म बजार पुरिएको छ । नेपाली सेनाको ब्यारेक रहेको आरुपाटा गएरातीदेखिको हिमपातले ढपक्क ढाकिएको छ ।
हिमपातले जिल्लाका अधिकांश बस्ती पुरिएको छन् । रास्कोट नगरपालिका २ का बिशामित्र सिम्खडाले रातीदेखिको हिमपातले गाउँ ढाकिएको वताउनुभयो । हिमपात पछिको चिसोले घरबाहिर निस्कन सक्ने अवस्था नभएको उहाँको भनाइ छ । लेक अर्थात खर्कमा लिएका गाई वस्तुलाई घाँसपानी दिन पनि नसकेर घरमै थुनिएको उहाँले बताउनुभयो । रास्कोट क्षेत्रका नागरिकहरुले पुसको अन्तिममा गाउँतिरको घाँस सकेर पशुचौपाया लेकाली क्षेत्रमा लिने गर्दछन् ।
रास्कोटसँगै शान्नीत्रिवेणी गाउँपालिका ४ को तिकुवा बस्तीमा मात्र हिमपात भएको छैन । अरु बस्ती हिमपातले ढाकिएका छन् । वडा ४ का वडाध्यक्ष हिमाल धामीले पूरै गाउँपालिका बस्तीमा हिमपात हुँदा आफ्नो वडाको एउटा बस्ती मात्र सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले यो पटक दशककै सबैभन्दा बढी हिमपात भएको बताउनुभयो । २०७६ सालमा पनि परेको थियो । तर योभन्दा माथिल्लो क्षेत्रसम्म मात्र परेको थियो । यसपालि भने धेरै तल बेंसीतिरसम्म हिमपात भएको अध्यक्ष धामीको भनाइ छ ।
हिमपातले खाँडाचक्र नगरपालिका ३ देखि १० वडा पूरै ढाकिएका छन् । यस्तै सदरमुकाम मान्म बजार पनि ढाकिएको छ । नगरका वडा २, ४ र ११ मा मात्र हिमपात भएको छैन । ती वडा धेरै तल गर्मी हुने क्षेत्रमा रहेकाले हिमपात नभएको हो । तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका, पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकाभित्रका ९० प्रतिशतभन्दा बढी बस्ती सेताम्मे भएका छन् ।