खुला | प्रदेश |

कर्मचारीलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

कमल शर्मा
दैलेख, माघ २१ गते । कर्मचारीलाई कार्यलयमै थुनेर कालोमोसो दल्ने र अभद्र व्यवहार गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुल्लु नगरपालिका–९ का ३६ वर्षीय प्रेमबहादुर भण्डारीलाई पक्राउ गरेको हो ।

माघ १३ गते जिल्लाको दुल्लु नगरपालिका–९ को वडा कार्यालयमा कार्यरत वडा सचिव रत्नाकुमारी गिरी र सामाजिक परिचालक भगवती न्यौपाने कार्यालयमा कामकाज गरिरहेको अवस्थामा भण्डारी लगायतका दश जनाको समूहले अभद्र व्यवहार गरी कालोमोसो दल्न खोज्ने गैरकानुनी कार्य गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद शाहले उक्त कार्यमा संलग्न ८ जना पक्राउ परी कानुनबमोजिम अनुसन्धान भइरहेको बताउनुभयो । फरार रहेका घटनाका योजनाकार तथा मुख्य अभियुक्त भण्डारीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका भण्डारीलाई जिल्ला प्रशासन कार्यालय दैलेखबाट दश दिनको म्याद थप अनुमति दिई अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै सवारी ज्यानसम्बन्धी कसुरमा एक जना, चोरी कसुरमा दुई जना र अभद्र व्यवहार कसुरमा एक जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख शाहले जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ बस्ने गोविन्दप्रसाद शर्माको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भे १ ख १९२१ नम्बरको मिनिट्रक चालक जिल्ला बर्दिया गेरुबा गा.बि.स. ६ बस्ने वर्ष ३६ को जितमान चौधरी भएको सवारी ज्यानसम्बन्धी कसुर (सवारी ज्यान) मुद्दामा अनुसन्धानको सिलसिलामा फरार रहेकालाई पक्राउ गरिएको बताउनुभयो ।

त्यस्तै दैलेख डुङ्गेश्वर गाउँपालिका –३ चौखुडा बाउनडाँडा पसल चोर्ने दैलेख डुङ्गेश्वर गा.पा.–४ अवलपराजुल बस्ने गणेश बि.क. र जनक बि.क.लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।