हिँउदे वर्षाले गहुँ र आलस बालीलाई फाइदा
जीबछ यादव
लाहान, माघ २२ गते । केही दिन यता परेको हिँउदे वर्षाले अरहर बाहेक सबै बालीलाई फाइदा नै भएको लहान नगरपालिका कृषि शाखाले जनाएको छ । कृषि शाखाका प्रमुख प्रकाश साह हलुवाइकाअनुसार अरहर बालीमा पहिलो पटक लागेको फूल वर्षाका कारण झरेकाले हिँउदे वर्षाले कुल उत्पादनको २५ प्रतिशत कम अरहर उत्पादन हुनेछ । अरहर (रहर) बाहेक मसुरो, चना, गहुँ, आलस लगायतका बालीहरुलाई वर्षाले फाइदा नै भएको छ ।
चैते धानको बेर्ना उमार्न र अन्य खेतिको लागि हिँउदे वर्षाले राम्रो नै गरेकोले कृषकको लागि क्षतिभन्दा फाइदा नै भएको उहाँले बताउनुभयो । सिराहाको पश्चिमा पर्ने कर्जन्हा मिर्चैया, गोलबजार, धनगडीमाई नगरपालिकाको दक्षिणी भेग र सुखीपुर नगरपालिका लगायत औरही, बरियारपटि, अर्नमा, नवराजपुर, लक्ष्मीपुर पतारी र सखुवानन्कारकटि गाउँपालिकाका किसानहरुले धानखेतको आलीमा अरहर उत्पादन गर्नेगरेका छन् ।
राष्ट्रिय राजमार्गभन्दा उत्तरी भेगका किसानलाई हिँउदे वर्षा भएपछि आँप खेती गरेका किसानहरुलाई निकै फाइदा गरेको छ । आँपमा मञ्जर (फूल) लाग्ने बेलामा गर्नुपर्ने सिंचाइको समयमा वर्षा भएपछि आँपमा निकै फल लाग्ने कृषि प्राविधिकहरुले बताएका छन् ।
यता दुई दिनदेखि लगातार भएको वर्षाले इँटा भाट्टाहरुले पोल्न तयार पारेको काँचो इँटा गलेर नष्ट भएपछि लाखौंको क्षति भएको छ ।