खुला |

काभ्रेमा विभिन्न कसुरमा फरार प्रतिवादी पक्राउ

मधुसुधन तिमल्सिना
काभ्रे, माघ २२ गते । अदालतबाट दोषी ठहर भएका तर फरार रहँदै आएका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले खोजी कार्यलाई तीव्रता दिएको छ । कानूनी राज्य स्थापना र दण्डहिनताको अन्त्यका लागि वर्षौदेखि विभिन्न कसुरमा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) हरि खतिवडाले कानुनी राज्य स्थापना र दण्डहिनताको अन्त्यका लागि फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनादेखि अहिलेसम्म ५८ जना फरार प्रतिवादी पक्राउ परेका छन । ‘वर्षौसम्म अदालतबाट फैसला भएर पनि फरार रहँदै आएका प्रतिवादी पक्राउ पर्न थालेपछि नागरिकले पनि ढिलो चाँडो न्याय पाइदो रहेछ भन्ने अनुभूति गर्न थालेका छन् । यसले कानूनी राज्य स्थापना र दण्डहिनताको लागि सहजता पनि थपेको छ,’ सूचना अधिकारी खतिवडाले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले उच्च अदालत पाटनबाट बैङ्किङ कसुरमा ७६ लाख जरिवाना फैसला भएर फरार रहेका देखि हत्या गरेर नौ वर्षदेखी फरार रहेका फरार प्रतिवादी पक्राउ गरेको छ ।

सरकारी छाप दस्तखत किर्ते, वैदेशिक रोजगारी ठगी, सवारी ज्यान मुद्दा, बैङ्किङ कसुर, लुटपिट, कर्तव्य ज्यान, बहुबिवाह मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । त्यस्तै बोक्सीको आरोप, चोरी, चेक अनादर, नागरिकता प्रमाणपत्र किर्ते, सम्बन्ध विच्छेद, लागूऔषध, जवरजस्ती करणी, हातहतियार खरखजना लगातयका मुद्दाको फैसला भएर फरार रहँदै आएका प्रतिवादीलाई प्रहरीले पक्राउ परेर जिल्ला अदालत बुझाएको जनाएको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकका अनुसार मङ्सिर मसान्तसम्ममा तीन सय ९७ जना फरार प्रतिवादी रहेको जनाएको छ । अदालतका अनुसार २०२९ सालदेखिका फरार प्रतिवादी रहेका छन् । जिल्लामा पछिल्लो समय बङ्ैकिङ कसुर र चेक अनादरसम्बन्धी मुद्दाका फरार धेरै छन् । जबरजस्ती करणी, सम्बन्ध विच्छेद, बहुविवाह, लिखत बदर, सवारी ज्यान, अङगभङ्गसम्बन्धी मुद्दाका फरार धेरै हुन थालेका छन् ।