खुला |

काठमाडौँका सात स्थानीय तहका भवन बन्दै

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २३ गते । काठमाडौँ जिल्लाका सातवटा स्थानीय तहका प्रशासनिक भवनको निर्माण कार्य धमाधम भइरहेका छन् । अहिले जिल्ला समन्वय समितिको मौजाद कोषबाट जिल्लाभित्रका पालिकाको प्रशासनिक भवन निर्माण भइरहेका हुन् । चन्द्रागिरि नगरपालिका, कीर्तिपुर, टोखा, नागार्जुन, शङ्खरापुर, तारकेश्वर, कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनिक भवन निर्माण भइरहेका हुन् । त्यस्तै कीर्तिपुर नगरपालिका–६ को वडा प्रशासनिक भवन, बूढानीलकण्ठ नगरपालिकाको वडा नं. २ र ७ को प्रशासनिक भवन, गोकर्णेश्वरको वडा नं. ६, ८ र ९ को वडाको प्रशासनिक भवन, बूढानीलकण्ठ नगरपालिकामा गैरीगाउँ खानेपानी आयोजना निर्माण भइरहेको जिल्ला समन्वय समिति काठमाडौँले जनाएको छ ।

काठमाडौँ महानगरपालिकामा भने सूर्यकोटदेवी खानेपानी आयोजनाका लागि बजेट प्रदान गरेको जिल्ला समन्वय समिति कामठाडौँका जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्यालले जानकारी दिनुभयो । दक्षिणकाली नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भने आशयपत्र प्रदान गरिएको छ ।

जिल्लाभित्रका स्थानीय तहका प्रशासनिक भवन निर्माण तथा अन्य पूर्वाधार विकासका लागि स्वीकृत ठेक्का लागतको ६० प्रतिशत जिससले र ४० प्रतिशत सम्बन्धित पालिकाले बेहोर्ने जिसस मौजाद कोष सञ्चालन निर्देशिकामा उल्लेख छ । जिससले प्रशासनिक भवन निर्माणको भौतिक प्रगतिका आधारमा आवश्यक कागजातसहित जिससले अनुगमन गरी तीन किस्तामा रकम उपलब्ध गराउने व्यवस्था छ । उक्त नगरपालिकाले ४० देखि ९५ प्रतिशतसम्म प्रशासनिक भवन निर्माणको काम सम्पन्न गरेको अर्यालले बताउनुभयो । उक्त पालिकाको प्रशासनिक भवन निर्माण भइसक्दा जिससले ५९ करोड ३६ लाख ५३ हजार ६१४ रुपियाँ प्रदान गर्ने जिससले जनाएको छ ।