सामुदायिक वनमा बसेको सुकुम्बासी बस्ती हटाइयो
अमरराज नहर्की
तनहुँ, माघ २३ गते । डिभिजन वन कार्यालय तनहुँले सामुदायिक वन अतिक्रमण गरी बनाइएका तनहुँको सुकुम्बासी बस्तीलाई हटाएको छ । शुक्लागण्डकी नगरपालिका –३ मा रहेको तालडाँडा दादरपाखा कसेरी सामुदायिक वन क्षेत्र अतिक्रमण गरेका करिब २० घरलाई हटाइएको सो कार्यालयले जनाएको छ ।
वन उपभोक्ता समिति वन उपभोक्ता समूहको सहयोगमा बस्ती हटाइएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । वन क्षेत्रलाई अतिक्रमण गर्न नपाईने अतिक्रमण गरिएको जग्गा दर्ता गर्न नपाईने कानुनी प्रावधानअनुसार हटाइएको डिभिजन वन प्रमुख काफ्लेले बताउनुभयो ।
तालडाँडा दादरपाखा कसेरी सामुदायिक वनक्षेत्रमा पाँच वर्षदेखि भूमिहीन दलित तथा सुकुम्वासीले टहरा निर्माण गरेर बस्ती बसाएका थिए । स्थानीयको अतिरिक्त अन्य जिल्लाबाट समेत सुकुम्वासी आएर बस्नेक्रम बढेको र वनक्षेत्र अतिक्रमण भइरहेकाले अतिक्रमण हटाएको सबडिभिजन वन कार्यालय बेलचौताराका प्रमुख विनयबहादुर अधिकारीले बताउनुभयो ।
अधिकारीले वनक्षेत्र अतिक्रमण भएको खण्डमा कारवाही गर्ने अधिकार प्राप्त भएकाले पूर्व सूचना दिएर वस्ती हटाएको जानकारी दिनुभयो । उहाँका अनुसार वन उपभोक्ता समितिको २६ औँ वार्षिक साधारण सभामार्फत निर्णय गरेर बिहीबार बस्ती हटाइएको हो ।
सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष युवराज भट्टराईले वन क्षेत्र अतिक्रमण बढ्न थालेपछि बस्ती हटाएको बताउनुभयो । सो स्थानमा रुकुम, रोल्पा, चितवन र गोरखालगायत देशका विभिन्न स्थानबाट आएका सुकुम्वासीले टहरा निर्माण गरेर बस्न थालेको उहाँले जानकारी दिनुभयो ।
वस्ती हटाउन प्रशासन त्यहाँ गएपछि स्थानीयले अवरोध सिर्जना गरेका थिए । शुक्लागण्डकी नगरपालिका ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले स्थानीय तहलाई खबर नै नगरी बस्ती हटाउनु गलत भएको बताउनुभयो । ‘बस्ने वैकल्पिक स्थानको खोजी नगरी उठीबास गर्नु हुँदैनथ्यो जनप्रतिनिधीसँग परामर्श गरिनुपर्दथ्यो’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।