जीप दुर्घटनाका मृतक परिवारलाई ५० हजार रुपियाँ राहत
सलिम मियाँ
बिजुवार, माघ २३ गते । प्युठानको गौमुखी गाउँपालिकाले जीप दुर्घटनामा परी ज्यान गुमाएका मृतक परिवारलाई ५० हजार रुपियाँ राहत उपलब्ध गराउने भएको छ । गौमुखी –६ लिवाङमा शनिबार भएको जिप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले नगद राहत दिने निर्णय गरेको हो ।
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५० हजार रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरिले जानकारी दिनुभयो । उहाँकाअनुसार गाउँपालिकाले ४ लाख रूपियाँ बजेट तत्काल व्यवस्था गरेर राहत उपलब्ध गराउनेछ ।
अध्यक्ष गिरिले बिपदमा परेका नागरिकलाई राहत उपलब्ध गराउन गाउँपालिकाले कार्यबिधी बनाएको समेत जानकारी दिनुभयो । नौबहिनी गाउँपालिका –६ लुङबाट बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा गौमुखी गाउँपालिकाका सात र नौबहिनीका एक जना गरी आठ जनाको ज्यान गएको थियो । दुर्घटनामा बेहुलाबेहुली्सहित ५ जना घाईते भएका थिए । आइतबार गाउँपालिकाले शोक बिदा दिएको छ ।