खुला | प्रदेश |

चिसोले गौशालामै मरे पन्ध्र गाई

गोकर्ण पौडेल
तुलसीपुर, माघ २३ गते । तुलसीपुर १८ बेलझुण्डीमा रहेको गौशालामा चिसोका कारण १५ वटा गाई मरेका छन् । योगी आदित्यनाथ फाउन्डेसनले सञ्चालनमा ल्याएको गौशालामा क्षमताभन्दा बढी गाई राख्दा लगातार परेको वर्षा पानीले चिसो भएर गाई मरेको स्थानीयको भनाई छ । गाई मरेपछि जिल्लास्थित प्रशासनिक नेतृत्व टोलीले अनुगमन गरेको छ ।

पोस्टमार्टम विवरणमा अत्यधिक चिसोका कारण निमोनिया भएर वृद्व गाई मरेको पोस्टमार्टममा संलग्न भेटेरीनरी डाक्टर मनोज वलीले बताउनुभयो । डाक्टर वलीले गौशालामा क्षमताबन्दा बढी गाई राख्दा चिसोका कारण एउटै ठाउँमा सबै गाईवस्तु ओत लाग्न खोज्दा च्यापिएर समेत मरेको हुनसक्ने बताइएको छ ।

भेटेरीनेरी अस्पतालका पशुविज्ञ केन्द्र घोराही र तुलसीपुर उपमहानगरपालिका अन्तर्गत रहेको पशु शाखा कार्यालयका डाक्टरसहितको टोलीले मरेका गाईहरुको पोस्टमार्टम गरेको थियो । डाक्टर वलीले मौसममा सुधार आएसँगै अन्य गाईमा कुनै समस्या नरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले क्षमताभन्दा बढी गाई नराख्न र व्यवस्थापन पक्षलाई सुधार गरेर मात्रै केन्द्र सञ्चालन गर्न निर्देशक दिएको केन्द्रका अध्यक्ष अनिल विष्टले बताउनुभयो ।

फाउन्डेशनका अध्यक्ष अनिल विष्टले अहिले गौशालामा निर्माण गरिएको ट्रष्टमा दुई सय वटा मात्रै गाई राख्न मिल्नेमा जथाभावी रुपमा गौशालामा गाई ल्याएर छाडेका कारण समस्या भएको बताउनुभयो । अहिले गौशालामा तीन सय बढी गाईवस्तु रहेका छन् । अध्यक्ष विष्टले थप अर्को ट्रस्ट निर्माधीन अवस्थामा रहेकाले तत्काल थप गाई राख्न नसकिने बताउनुभयो ।

केन्द्रमा रहेको साइलेन्स घाँस र परालको अभाव रहेकाले जिल्लाका विभिन्न ठाउँबाट घाँस पराल संकलनको जोहो भइरहेको अध्यक्ष विष्टले बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयको ४५ बिघा क्षेत्रफलमा गौशालाका लागि जग्गा फाउन्डेशनले लिजमा लिएको छ भने तीन कठ्ठा जग्गामा ट्रस्ट निर्माण गर्न थालेको छ । फाउन्डेनले जग्गा उपभोग गरेबापत् वार्षिक ९ लाख ६३ हजार रुपियाँ विश्वविद्यालयलाई भुक्तानी गर्ने जनाएको छ ।