खुला | प्रदेश |

हिउँले बाटो अबरुद्ध भएपछि साईपाल गाउँपालिकामा खाद्यान्न अभाब

शैलेन्द्र रोकाया
बझाङ, माघ २३ गते । बिहिबार र सुक्रबार भएको हिमपातका कारण चिनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको साईपाल गाउँपालिका जाने बाटो अबरुद्ध भएपछि गाउँपालिकामा खाद्यान्न अभाब भएको छ । सडक सञ्जाल समेत नजोडिएको गाउँपालिका जाने एक मात्र घोरेटो साइपाल गाउँपालिकाको नाग्नाको लेक (रस्या) लगायत बिभिन्न ठाउँमा बाटो अबरुद्ध भएपछि खाद्यान्न लगायत अन्य दैनिक उपभोग्य बस्तुहरु अभाव भएको हो ।

सदरमुकाम चैनपुरबाट समेत तीन दिनको पैदल दुरिमा रहेको साईपाल गाउँपालिकामा सदरमुकाम चैनपुरबाट खाद्यान्न ढुवानी गर्दैआएको थियो । साईपाल गाउँपालिकाको रस्याको उकालो, कायाँ लगायतका ठाउँहरुमा अहिले पनि झण्डै चार फिट हिउँ जमेपछि साईपाल गाउँपालिको काँडा, घुली, बलौडी र न्युनामा खाद्यान्न अभाव भएको छ ।

गाउँपालिकाको केन्द्र रहेको काँडामा समेत स्टक राखिएको चामल सकिएपछि गाउँमा भोकभरी हुने अबस्था आएको साईपाल –४ का स्थानीय कन्जु भण्डारीले बताउनुभयो । नियमित खच्चर र भेडाबाट खाद्यान्न ढुवानी गर्दैआएको भएपनि हिउँले आवत्जावत गर्न नसकिएपछि गाउँमा खाद्यान्न अभाब भएको उहाँले बताउनुभयो ।

“पहिले घर घरमा स्टक खाद्यान्न राख्ने चलन थियो भण्डारीले भन्नुभयो, “अहिले नियमित ढुवानी हुँदै आएपछि स्टक राख्ने चलन हटेको छ ।” खाद्यान्न उत्पादन नहुने साईपाल गाउँपालिकामा नेपाल सरकारले ढुवानीमा अनुदान दिएर ठेकेदार मार्फत साईपाल गाउँपालिकामा खच्चरमार्फत ढुवानी गरिदैआएको थियो ।

खाद्यान्न ढुवानीका लागि अन्य कुनै बैकल्पिक ब्यवस्था नभए पछि हेलिकप्टरमार्फत ढुवानी गर्नुको बिकल्प नरहेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो । “गाउँमा भोकमरी हुने अबस्था आउन थालिसक्यो अध्यक्ष धामीले भन्नुभयो, “तुरुन्तै हेलिकप्टर मार्फत भएपनि छिटोभन्दा छिटो खाद्यान ढुवानी गर्न सरकारले पहल गर्न माग गरेका छौ ।”