ताप्लेजुङको सुकेटारमा लगातार उडान अवरुद्ध
चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २४ गते । प्रतिकूल मौसमका कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा लगातार उडान अवरुद्ध बनेको छ । सोमबार बिहानैदेखि बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल बनेपछि नेपाल वायुसेवा निगमको उडान अवरुद्ध बनेको हो ।
यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । नेपाल वायुसेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले सोमबार मौसम नखुलेका कारण उडान रद्द भएको बताउनुभयो । लिम्बूका अनुसार गएको शुक्रबार विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध बनेको थियो ।
सोमबारको उडान अवरुद्ध बनेपछि काठमाडौंका लागि टिकट गरेका १४ जना यात्रु रोकिएका छन् । काठमाडौंदेखि ताप्लेजुङ आउन लागेका १२ जना यात्रु पनि उतै रोकिएका स्टेशन इन्चार्ज लिम्बूले जानकारी दिनुभयो । हिउँद मौसमसँगै हिमपात हुन थालेपछि सुकेटार विमानस्थलमा पटक–पटक उडान अवरुद्ध हुँदै आएको छ । निगमले सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान सञ्चालन गर्दै आएको छ ।
यता आइतबार मौसम खुलेपनि सोमबार बिहानैदेखि मौसम प्रतिकूल बनेको छ ।
बाक्लो हुस्सुसहित मौसम धुम्मिएकाले चिसोका कारण जिल्लाको जनजीवनसमेत प्रभावित बनेको छ । सोमबार बिहानको ताप्लेजुङको न्युनतम तापक्रम भने ५.४ डिग्री सेलसियस रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयले जनाएको छ ।