खुला | प्रदेश |

वीरेन्द्र–ऐश्वर्य उद्यानको आधुनिक निर्माण कार्य रोक्न माग

नवीन शिशिर विक
बागलुङ, माघ २४ गते । बागलुङ बजारभित्रको एकमात्र खुल्ला क्षेत्र हो विरेन्द्र–ऐश्वर्य उद्यान । पञ्चायतकालिन समयमा तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्यको शालिक स्थापना गरिएको थियो । २०६२–०६३ को जनआन्दोलन क्रममा पार्कभित्रका शालिक फुटाइएको थियो । यद्यपि पार्कमा अन्य संरचना यथावत राखिएका थिए ।

बागलुङ बजारको ट्राफिक चोकमा रहेको पार्कलाई बागलुङ नगरपालिकाले आधुनिक रुपमा पुनःनिर्माण थालेको छ । पुरानो शैली, हरियाली मासेर पार्कको पुनःनिर्माण गर्न थालेपछि निर्माण कार्य रोक्न माग गर्दै उच्च अदालत पोखरा बागलुङमा रोक्न रिट निवेदन परेको छ ।

बागलुङ नगरपालिका –१ रामरेखा निवासी ७० बर्षिय टेकबहादुर सार्कीले बागलुङ नगरपालिका, नगरप्रमुख, जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाई रिट निवेदन पेस गर्नुभएको छ । दशकौ पुरानो स्थानीय समुदायमा आधारित मौलिक कला, संस्कृति र सभ्यताको जनआस्था बोकेको पार्कको संरक्षण, सम्बर्धन गर्न विपक्षीलाई कानुनी अधिकार भएपनि विगार्नै, भत्काउने, नष्ट गर्ने र अर्काे कुनै निर्माण वा भिन्न स्वरुप दिने अधिकार नभएको रिटमा दावी गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम विपक्षीले संरक्षण गर्ने दायित्व राख्छ त्यस्तै अर्काे विपक्षीय जिल्ला प्रशासन कार्यालय बागलुङलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ५ (५) समेतले नोक्सान हुन नदिई जोगाउनु पर्ने उल्लेख गरिएको छ । विपक्षीका प्रमुखहरु विद्यमान कानुनविपरित एकापसमा मिली कानुनी अधिकार बाहिर गई मौलिक कला संस्कृति र सम्भयता नष्ट गर्ने र नयाँ संरचना बनाउन लागेको रिटमा उल्लेख गरिएको छ ।

निवेदक पक्षको वकिलको बहसपछि उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले माघ २६ गते दुवै पक्ष राखी छलफल प्रयोजनका लागि सरोकारवाला लाई आदेश जारी गरेको छ । नगरपालिकाले करिव एक करोड लगातमा पार्कलाई आधुनिक ढंगबाट पुनःनिर्माण गरिरहेको छ ।