छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं, माघ २५ गते । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपन आकासेधाराबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने २२ वर्षीय पासाङ छिरिङ र कञ्चनपुर भीमदत्त नगरपालिका घर भएका २७ वर्षीय खगेश खत्रीलाई पक्राउ गरेको हो ।
प्रहरीले छिरिङलाई शङ्कास्पद अवस्थामा फेला पारी उनको कोठा तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा खत्रीले राख्न दिएको भनी खुल्न आएपछि बूढानीलकण्ठ नगरपालिका–६ गोपिकृष्ण हल नजिकबाट उनलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, पोखरा महानगरपालिका–३२ मजुवाबाट करिब चार केजी अवैध लागूऔषध गाँजासहित सोही महानगरपालिका–२६ सुन्दरीडाँडा बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.४ख १०८० नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, कपिलवस्तुको मायादेवी गाउँपालिका–४ ठाकुरापुरस्थित सडकबाट नियन्त्रित लागूऔषध स्पास्मो ५३६ ट्याब्लेट र नाइट्राभेट ९० ट्याब्लेटसहित कपिलवस्तु नगरपालिका–७ धरमपनियाँ बस्ने २८ वर्षीय अफ्तर अलीलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ । लु.३३प ९३०६ नम्बरको मोटरसाइकललाई सीमा प्रहरी चौकी चाकरचौँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अलीलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।