भाडा नतिर्नेलाई अब कारबाही
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २६ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा नतिर्नेलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । कतिपय संस्थाले लामो समयसम्म पनि भाडा नतिरेको बताउनुहुँदै मन्त्री रेग्मीले पैसा नतिर्ने, अटेर गरी बस्ने, जग्गाको दुरुपयोग गर्ने र अनियमित किसिमले अधिग्रहण गर्नेलाई कारबाही गरिने स्पष्ट पार्नुभयो ।
मङ्गलबार भृकुटीमण्डप क्षेत्रको निरीक्षण गर्नुहुँदै मन्त्री रेग्मीले बिचौलियामार्फत हुने कारोबार रद्द गरेर सोझै परिषद्मार्फत नै भाडा सम्झौता हुने व्यवस्था मिलाउन लागिएको बताउनुभयो । उहाँले भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित गर्न सरकार लागिपरेको बताउँदै अव्यवस्थित रूपमा रहेका घर–टहरा, तरकारी बजार, फनपार्कको उचित व्यवस्थापनका साथै खाली रहेका जग्गा–जमिनलाई उपयोग गर्ने रणनीतिसमेत जानकारी गराउनुभयो ।
मन्त्री रेग्मीले भन्नुुभयो, “तरकारी बजार, फनपार्क, होटललगायतमा उचित व्यवस्थापन छैन भन्ने गुनासो आएको थियो, आफ्नै आँखाले छर्लङ्ग देखेँ, अब छिट्टै नतिजा देख्नुहुनेछ ।’’ भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने उहाँको योजना छ । मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको टुकुचा, खसी बजार, फनपार्क, हङकङ बजार, प्रदर्शनी स्थललगायतको निरीक्षण गर्नुभएको हो ।