खुला |

इलामकाे सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल


काठमाडौं, माघ २६ गते । इलाममा निर्मित सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार बिहान नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान गरेको हो ।

इलाम नगरपालिका–९ मा निर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल भएसँगै व्यावसायिक उडान हुने भएको हो । ८५७ मिटर उचाइमा रहेको यो विमानस्थल इलामकै पहिलो हो । ६७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको याे विमानस्थलमा एकतर्फी मात्र धावनमार्ग छ । तर एकै पटक दुई वटा जहाज अवतरण गर्न सक्ने क्षमता छ ।

काठमाडौंबाट सुकिलुम्बा अवतरण गर्न एउटा जहाजलाई एक घण्टा समय लाग्ने नेपाल एयरल्यान्सको अपरेसन प्रमुख वरिष्ठ पाइलट दीपु ग्वार्चनले बताउनुभयो ।

यसअघि २०७५ जेठ २१ गते पनि परीक्षण उडान सम्पन्न भएको विमानस्थलमा कालोपत्रे सम्पन्न भएपछि बुधबार पुनः उडान भएको हो । नागरिक उडड्यन प्राधिकरणले विमानस्थलमा फागुन ८ गतेदेखि व्यावसायिक उडान गर्ने तयारी थालेको छ ।