खुला | प्रदेश |

बुद्धसिंह मार्गलाई वैकल्पिक माार्गको रुपमा स्तरोन्नति गर्न निर्देशन

अमरराज नहर्की
तनहुँ, माघ २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शहीद बुद्धसिंह मार्गको स्तरोन्नति गर्न निर्देशन दिनुभएको छ । सो मार्गको अवलोकन तथा निरीक्षणपछि सम्बन्धित निकायलाई पृथ्वीराजमार्ग वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न मिल्नेगरी काम गर्न निर्देशन दिनुभएको हो ।

शहीद बुद्धसिंह मार्ग गण्डकी प्रदेशको महत्वपुर्ण सडक भएको र पृथ्वीराजमार्गको तनहुँ खण्ड विस्तारको क्रममा रहेकाकारण मार्गलाई वैकल्पिक मार्गको रुपमा सुचारु गर्न सकिने मुख्यमन्त्री पोखरेलले बताउनुभयो । “पृथ्वीराजमार्गको काम पूरा हुन पाँच वर्ष लाग्न सक्छ गण्डकी प्रदेशमा आउने पर्यटक तथा यात्रुका लागि आवतजावतमा समस्या पर्छ त्यसैले बुद्धसिंह मार्गलाई स्तरोन्नति गर्नु जरुरी छ’’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

घुमाउनेमा मोटरेबल पुल निर्माणको क्रममा रहेकाले तत्काल उक्त माग सुचारु गर्न सडक मर्मत गरेर त्रिशुली नदीमाथि घुमाउनेमा बेलिब्रीज निर्माण गर्न सकिने मुख्यमन्त्रीले बताउनुभयो । पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडक विस्तार गर्दा तराई जाने सवारी साधन सञ्चालनका लागि ६ महिनाभित्र बेलिब्रीज निर्माण गरेर बुद्धसिंह मार्ग सुचारु गर्न सकिने उहाँको भनाइ छ ।

यो मार्ग शहीद राजनीतिक इतिहाससँग जोडिएकाले ऐतिहासिक महत्व भएको बताउनुभयो । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा होमिने क्रममा बुद्धसिंह रानाले शहादत प्राप्त गर्नुभएको थियो ।

पञ्चायती शासनकालमा बुद्धसिंह रानाले भरतपुर कब्जा गर्ने क्रममा शाही सैनिकबाट मारिनुभएको थियो । सोपछि शहीद बुद्धसिंहको नाममा मार्गको नामकरण गरिएको छ । प्रदेश सरकारले सडक स्तरोन्नतिका लागि डेढ करोड रुपियाँ विनियोजन गरी काम अगाडि बढाएको छ । काम तीव्रगतिले भइरहेको गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले जानकारी दिनुभयो ।

दूरीको हिसाबले पनि बुद्धसिंह मार्ग दमौलीबाट चितवन जाँदा २८ किलोमिटर छिटो भएकोले प्रदेश सरकारले यस मार्गलाई प्राथमिकतामा राखेको बताएको छ । स्तरोन्नति गर्न धेरै बजेट आवश्यक पर्ने भएपछि केन्द्रीय सरकारसँग आवश्यक बजेट माग गरिएको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले जानकारी दिनुभयो ।

अनुगमनमा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने, व्यास नगरपालिकाका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, सो मार्गका पूर्व अध्यक्ष विश्व बाँस्तोलालगायतले सडकको अवलोकन गर्नुभएको थियो ।