दमौलीमा अतिक्रमण गरी बनाइएका घरहरु भत्काउन सुरु
अमरराज नहर्की
तनहुँ, माघ २७ गते । तनहुँको एक पालिकाले सार्वजानिक जग्गा अतिक्रमण बनाइएका घर तथा टहराहरु भत्काउन सुरु गरेको छ । व्यास नगरपालिकाले सदरमुकाम दमौलीमा अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना भत्काउन थालेको हो ।
१५ दिनभित्र हटाउन र नहटाएमा नगरपालिकाबाट घर टहरा हटाउने सूचना जारी गरेकोमा पुनः १५ दिन म्याद थप गर्दा समेत अटेर गरेका घर टहराहरुलाई भत्काउनुपरेको नगरपालिकाले जनाएको छ । सार्वजानिक सम्पत्तिको सुरक्षा, अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अधिकार स्थानीय सरकारसँग निहित रहेकाले अतिक्रण रोक्न भत्काउन थालिएको प्रमुख प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।
यसै क्रममा बुधबार वडा नम्बर २ स्थित डाङ्ग्रे खोल्सी देखि अमरापुरीतर्फ रहेका अतिक्रमण गरी बनाईएको जनजागृति र उत्तरशिलाटोलमा निर्माण गरिएका घर तथा टहराहरु डोजरको प्रयोग गरी नगर प्रहरी परिचालन गरेर हटाइएको नगरपालिकाका घर नक्सा शाखाका नायब सुब्बा भाग्यशाली ढुङ्गानाले जानकारी दिनुभयो ।
वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठको उपस्थितिमा व्यास नगरपालिकाको टोली भत्काएको थियो । घर तथा टहरा हटाउन पटक पटक पत्राचार गर्ने कार्यालयमा बोलाएर सम्झाउँदा समेत अटेर गरेकाले डोजर नै लगाएर भत्काउनुपरेको घर नक्सा शाखाका प्रमुख इन्जिनियर अमृत केसीले जानकारी दिनुभयो ।
नगरपालिको वडा नम्बर २ स्थित डाङ्ग्रे खोल्सीमा अतिक्रमण गर्ने होडबाजी नै चलेको पाइएको र अन्य स्थानमा अतिक्रमण बढ्दै गएकाले गुनासो आएकाले हटाउन सूचना जारी गरिएको थियो । घर नक्सा शाखाका प्रमुख केसीका अनुसार हालसम्म ५९ वटा घर तथा टहरा मापदण्डविपरीत निर्माण गरिएको र १५ वटा पुरै अतिक्रमण गरी निर्माण गरिएको पाइएकाले भत्काउने कार्य भइरहेको छ ।