तामाकोशीको जलाधार क्षेत्रमा हिमताल विस्फोटबाट हुने क्षतिकाे जोखिम घट्यो
बाबुराम शर्मा
चरीकोट, माघ २८ गते । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसीको जलाधारमा आउन सक्ने ग्लासिकल लेक आउटब्रस्ट फ्लड (हिमताल विस्फाेट भएर आउने बाढी ) को जोखिम पहिलेभन्दा आधा घटेको पाइएको छ ।
रेनोल्डस् इन्टरनेसनल लिका ख्याति प्राप्त विज्ञ प्रा.डा. जोन रेनोल्डस् र नरकन्सल्ट्रान्ट एएसका विज्ञ हाइड्रो इन्जिनियर स्वेरे एडभर्सनसँगको तामाकोसी र रोल्वालिङ जलाधारहरुमा रहेका हिमताल र हिमतालीय जोखिमबारेमा भएको अन्तरक्रिया कार्यक्रममा च्छाे राेल्पा तालबाट ग्लासिकल लेक आउटब्रस्ट फ्लड आउने संभावना पहिलेभन्दा आधा घटेको जानकारी गराइएको तामाकोशी जलविद्युत् आयोजनाका इन्जिनियर विमल गुरुङले बताउनुभयो ।
उहाँका अनुसार रेनोल्डस् इन्टरनेसनल लि.का ख्यातिप्राप्त विज्ञ प्रा.डा. जोन रेनोल्डस्ले गत सन् २००४ मा गर्नुभएको अध्ययनले माथिल्लो तामाकोसीको बाँध जलाशयभन्दा उत्तर तामाकोसी नदीको जलाधारमा अधिकतम पाँच हजार घनमिटर प्रतिसेकेन्ड हिमताल विस्फाेट भएर आउने बाढीकाे खतरा रहेकोमा अहिले घटेर दुई हजार २५० घनमिटर प्रतिसेकेन्ड पुगेको हो । बाँध, लामाबगर क्षेत्रसहित तल्लो तटीय क्षेत्रहरुमा सम्भावित बाढीको असर कम हुने देखिएको छ ।
सन् २००४ मा प्रा.डा. जोन रेनोल्डस्ले अध्ययनका क्रममा ६ हजार पाँचसय घनमिटर प्रतिसेकेन्डका दरले बाढी आउने आधारमा साे बाढी धान्न सक्ने गरी आयोजनाको विद्युत् गृह र टेलरेसको अवस्थिति डिजाइन गरी निर्माण गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो । आयोजनाको बाँध पाँच हजार घनमिटर प्रतिसेकेन्ड दरकाे बाढी थेग्नेगरी निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा विज्ञ जोन रेनोल्डस्ले च्छोरोल्पा हिमतालको आकार बढ्ने क्रम विगत १५ वर्षयता एकदम कम भएको पनि जानकारी दिनुभयो । सो तालको पश्चिम दिशामा रहेको १५० मिटर अग्लो नेचुरल मोरेन ड्यामको सेफ्टी मार्जिन घट्दै गइरहेकाले सो ड्यामको भित्री बनावट थाहा पाउन यथाशीघ्र हाइड्रोग्राफिक र जिओफिजिकल अध्ययन गर्नुपर्ने पनि बताउनु भएको इ. गुरुङले जानकारी दिनुभयो ।
प्रा.डा. रेनोल्डस्ले बेलायतको आफ्नो गाउँभन्दा च्छोरोल्पा क्षेत्रको भूगोल र भूगर्भको बारेमा बढी जानकार हुनुहुन्छ । उहाँ विगत २८ वर्षदेखि च्छोरोल्पा तालको अध्ययनमा संलग्न रहनुभएको छ । अन्तरक्रिया कार्यक्रममा आयोजनाका परामर्शदाता जोइन्टभेन्चर नरकन्सल्ट्यान्ट एएस लाह्येर इन्टरनेसनल जिएमबिएचका वर्तमान टिम लिडर जार्टन गुल्ब्रा पनि सहभागी हुनुहुन्थ्यो ।
(नाेट : यस अघि प्रस्तुत समाचारमा शीर्षकमा तामाकाेशी जलाधार क्षेत्रकाे हुनु पर्नेमा अन्यथा भएकाले सुधार गरिएकाे छ । सम्पादक)