विद्यालय परिसरमा खेलग्राम, तीन करोडमा कवर्डहल निर्माण हुँदै
हरिप्रसाद कोइराला
सुन्दरहरैंचा (मोरङ) माघ २९ गते । मोरङको सुन्दरहरैंचा–५ स्थित साजिलाल माध्यमिक विद्यालय परिसरमा कवर्डहल निर्माण हुने भएको छ । १ नं. प्रदेशको ‘बिग स्कुल’ ठूलो विद्यालयको रुपमा छनाेट भएको साजिलाल माध्यमिकको गुरूयोजना अनुसार विद्यालय परिसरमा कवर्डहल निर्माण गर्न लागिएको हो ।
सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले कवर्डहलकाे शिलान्यास गर्नुभयो । कवर्डहलको शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले बिग स्कुलको रुपमा छनौट भएको साजिलाल माध्यमिक विद्यालयले नमुना कवर्डहल निर्माण गर्न लागेकाले नगरपालिकाको बजेट मात्र पर्याप्त नहुने बताउनुभयो । प्रदेश सरकार र संघीय सरकारबाट समेत बजेट जुटाएर प्रदेश नं. १ कै नमूना कवर्डहल बनाउने नगर प्रमुख ढकालले बताउनुभयो ।
दुई करोड ७५ लाख रुपियाँको लागतमा निर्माण हुने हलमा भलिबल, बास्केटबल, ब्याडमिन्टन, कराँते, तेक्वान्दोलगायतका खेल खेल्न मिल्नेछ । इनडोर गेम मात्र होइन, मोैसम प्रतिकूल भएका बेला कतिपय आउट डोर गेम पनि कवर्डहलमै सञ्चालन गर्न सकिने क्षमताको कवर्ड हल निर्माण हुनेछ । विद्यालय परिसरलाई नै खेलग्रामको रुपमा विकास गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक कल्याणप्रसाद सिटौला बताउनुहुन्छ ।