खुला |

हुरी बतासले अवरुद्ध हवाई सेवा सुचारु


राजन रावत
हुम्ला, माघ २९ गते । शुक्रबार बिहानैबाट हुरी बतास लागेर अवरुद्ध भएको हुम्लाको हवाई सेवा सुचारु भएको छ । हावाहुरी लाग्न रोकिएको भए पनि बिहान एघार बजेबाट मात्र हवाई सेवा सुचारु भएको हो ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले एक दिन हावाहुरीले अवरुद्ध रहेको हवाई सेवा सुचारु भएको जनाएको छ । हुम्लाको मौसम बिहानैबाट राम्रो भए पनि नेपालगंजमा हुस्सु लागेको कारण ढिलो गरी हवाई सेवा सुचारु भएको हो । सीता, तारा र समिट एयरलाईन्सका जहाजहरुले उडान भरेका हुन् ।

त्यसमा यात्रु तथा खाद्यान्न ढुवानी भएको छ । हावाहुरीले अवरुद्ध भएको हवाई सेवा सुचारु भएपछि यात्रुहरुलाई सहज भएको छ भने सिमकोट बिमानस्थलमा रहेको जडीबुटी ढुवानी हुन पाएको छ ।

शुक्रबार सिमकोट बिमानस्थलमा अवतरणका क्रममा रहेको सीता एयरको जहाज हावाले अवतरण गर्न नसकेर फिर्ता भएको थियो भने त्योसँगै तारा र समिट एयरका जहाज पनि सिमकोट प्रवेशकै क्रममा मारघोर लेकबाट नेपालगंज फिर्ता हुनुपरेको थियो । त्यसबाट यात्रु तथा खाद्यान्न नेपालगंज फिर्ता भएको थियो ।