करेन्ट लागेर सर्लाहीमा एक मजदुरको मृत्यु, एक घाइते
जनार्जन खत्री
सर्लाही, माघ २९ गते । सर्लाहीको बागमती नगरपालिका–२, धरहरामा शनिबार करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
शनिबार बिहान १०ः३० बजेतिर धरहराका स्थानीय कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा बिजुलीको तारमा रडले छुदा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बागमती नगरपालिका–८, खजुरेका २५ वर्षीय रामु महतो रहेका छन् ।
करेन्ट लागेर घाइते भएका महतोलाई उपचारका लागि हरिवनस्थित जीवन अस्पताल पुल्याउदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
यसैगरी महतोलाई बचाउने क्रममा घाइते हुनुभएका अर्का मजदुर बागमती नगरपालिका–८, कै २१ वर्षीय दीपक कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घाइते दीपकको अवस्था भने सामान्य रहेको हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।