खुला | प्रदेश |

आकाशे पुल प्रयोग गर्दैनन् पैदल यात्रु

लक्ष्मण पौडेल
भैरहवा, माघ २९ गते । पैदल यात्रुको सहजताका लागि रुपन्देहीका थुप्रै ठाउँमा आकाशे पुल बनाइएको छ । तर ती सबै पुल प्रयोग हुने गरेको पाइएको छैन । भैरहवा, बुटवलका मुख्य चोकहरुमा आकाशे पुल निर्माण गरिए पनि यसको प्रयोग गर्नेको संख्या न्यून छ । अधिकांश पैदलयात्रु सडकबाटै हिँडेपछि सडकमा सवारीको जाम हुनेगरेको छ ।

व्यस्त सडकमा समेत पैदलयात्रु पुल छाडेर बीचसडकबाटै हिँडिरहेका भेटिन्छन् । पैदलयात्रुका कारण ट्राफिकजाम हुनेगरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पैदलयात्रुले आकाशे पुलबाट बाटो नकाट्दा दुर्घटनाको जोखिम बढ्नेगरेको प्रहरीको भनाइ छ ।

पैदलयात्रुलाई ट्राफिक नियम पालन गर्न लगाउने काम पनि ट्राफिक प्रहरीकै हो तर सर्वसाधारणलाई यसबारे अझै सचेत बनाउन नसकिएको स्थानीयको बुझाइ छ । भैरहवामा आँखा अस्पताल, बसपार्क र बर्मेलीचोकमा आकाशे पुल निर्माण गरिएकाे छ । बुटवलमा डाइभरटोल, योगीकुटी, कालिका स्कुल, राजमार्ग चौराह, मिलनचोक, ट्राफिकचोक र अञ्चल अस्पताल अगाडि आकाशे पुल निर्माण भएका छन् । आकाशे पुल अपाङगमैत्री बनाइएका छन् ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दिवस जिसीले आकाशे पुलको प्रयोग गराउन योजना बनाएर काम गरिरहेको जानकारी दिनुभयो । “पहिलो कुरा त यात्रु स्वयं सचेत हुने कुरा हो” उहाँले भन्नुभयो, “हामीले सुरुमा जनचेतना फैलाउने काम गरेका छौँ । त्यसपछि जनशक्ति पुगेसम्म आकाशे पुलमा ट्राफिक प्रहरी राखेर पनि प्रयोग गर्न लगाउने योजनामा छौँ ।”

पैदलयात्रुले आकाशे पुल र जेब्रा क्रसिङ प्रयोग गरेमा दुर्घटना घट्ने र यात्रा सफल हुने उहाँले बताउनुभयो । आकाशे पुल तथा जेब्रा क्रसिङको दूरी टाढा भए पनि सुरक्षका लागि पाँच दश मिनेट हिँड्न ग्राह्रो मान्न नहुने उहाँले बताउनुभयो । पैदल यात्रुलाई सुरक्षित यात्रा गराउन बाटो काट्दा होसियारी अपनाउनु पर्ने ट्राफिक प्रहरीको भनाइ छ ।

“दुर्घटनामा मृत्यु हुने धेरैजसो घटनामा पैदलयात्रुको पनि गल्ती हुन्छ । जहाँतहींबाट हात देखाएर गाडी रोक्दै सडक पार गर्छन् । आफूले सुरक्षित भएर हिँड्नुपर्छ भन्ने मनमा नराखेर हिँड्दा कैयौंको मृत्यु भएको छ”– जिसीले भन्नुभयो । प्रहरीले विभिन्न स्थानमा ट्राफिक नियम पालना नगरी हिँडिरहेकालाई सोही स्थानमा भेला गरी कक्षा दिने कार्यक्रम पनि ल्याएको थियो ।

यात्रुको चाप र दुर्घटना सम्भावित क्षेत्रलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको र यसको प्रयोगका लागि यात्रुहरुमा बानीको विकास गर्नु जरुरी रहेको बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले बताउनुभयो ।