डकैती गर्ने दुई जना भारतीय पेस्तोलसहित पक्राउ
सिराज खान
नेपालगञ्ज, माघ २९ गते । बाँके र बर्दियाका विभिन्न स्थानमा पेस्तोल देखाई परिवारलाई बन्धक बनाएर डकैति गर्दैआएका दुई जना भारतीयलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार बाँकेको खजुरामा सुन व्यवसायीको घरमा र बर्दियाको बढैयातालमा एक व्यवसायीको घरमा पेस्तोल लगायतका हतियारको भरमा डकैति गरी रकम लुटपाट गरेका दुई जना भारतीय डाँकालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाँके खजुरा डि गाउँ बस्ने हरिप्रकास बिकको घरमा हतियारसहित पसेर ५० हजार नगद, साढे तीन तोला सुन र एक थान मोटरसाइकल लुट्ने तथा बर्दिया बढैयाताल ८ सितलाबजार बस्ने पर्शुराम सार्कीको घरमा पसेर पेस्तोल देखाई ३ लाख ३५ हजार नगद र सुन लुट्ने भारतीय डाँकालार्ई पक्राउ गरिएको बताउनुभयो ।
उनीहरुलाई बाँकेको जानकी गाउँपालिका ५ बुढियागाँउबाट पक्राउ गरिएको अधिकारीले बताउनुभयो । पक्राउ पर्नेहरुमा भारत रुपैडिहाका निबिया घर बताउने बर्ष २६ का डब्लु मनिहार र भारत बाबागञ्जको बाबाकुटी घर बताउने बर्ष २८ का निजामुद्दिन कवडिया रहेको प्रहरीले जनाएको छ ।
उनीहरु पुस २९ गते बढैयातालमा र माघ १७ गते खजुरामा पेस्तोल देखाई घरका सबै परिवारलाई बाँधेर डकैति गरेको प्रहरीको भनाई छ । खजुरास्थित विकको घरबाट लुटिएको पल्सर मोटरसाईकल प्रहरीले माघ १८ गते साँझ बर्दिया बढैयाताल ५ बढैयाताल नजिकै रहेको पोखरीमा फेला पारेको थियो । पक्राउ परेका दुबैजना डाँकाले अन्य ठाउँमा पनि लुटपाट गरेको हुनसक्ने जनाउँदै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।