अक्सिजन प्लान्टले कोसी अस्पताललाई मासिक १० लाख रुपियाँ बचत
शशिधर पराजुली
विराटनगर, माघ २९ गते । अक्सिजन प्लान्ट स्थापना भएपछि कोसी अस्पताललाई मासिक १० लाख रुपियाँ बराबर रकम बचत हुन थालेको छ । कोसी अस्पतालले निजी क्षेत्रसँग दैनिक २ सय सिलिण्डर अक्सिजन खरिद गर्दैआएकोमा पुस महिना यता अक्सिजन ग्यास खरिद गरेको छैन ।
अस्पताललाई चाहिने अक्सिजन आफ्नै प्लान्टबाट उत्पादन हुन थालेपछि अक्सिजन खरिदमा हुँदैआएको दैनिक ५० हजार रुपियाँ बराबरको रकम बचत भएको अस्पतालको भनाई छ । कोसी अस्पतालमा विभिन्न दातृ संस्थाहरुले तीनवटा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएका छन् । तीनवटा प्लान्ट सञ्चालन हुँदा दैनिक ३ सय सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्न सकिने अस्पतालले जनाएको छ । अहिले दुई वटा प्लान्ट सञ्चालन गर्दा आवश्यक अक्सिजन उत्पादन भइरहेको छ ।
अक्सिजन प्लान्ट राख्न कोसी अस्पतालले १२ लाख रुपियाँ लागतमा भवनलगायत आवश्यक पूर्वाधार निर्माण गरेको थियो । यन्त्र उपकरणहरु दातृ संस्थाले उपलब्ध गराएको अस्पतालले जनाएको छ । युएसआइडी एसयुपी हेटिक नेपाल, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र सुजी फाउण्डेसन तथा नेपाल मेडिकल एशोसिएसनको सहयोगमा अक्सिजनका तीनवटा प्लान्ट स्थापना गरिएका छन् । ती प्लान्ट मध्ये दुई वटा प्लान्टले हावाबाट छानेर अक्सिजन उत्पादन गर्छ भने एउटा लिक्वीडबाट अक्सिजन उत्पादन गर्न प्लान्ट स्थापना गरिएको अक्सिजन प्लान्ट हेर्ने अस्पतालका कर्मचारी बद्री बस्नेतले जानकारी दिनुभयो ।
लिक्वीडबाट अक्सिजन उत्पादन गर्ने प्लान्टले एक पटक लिक्वीड भरेपछि ४८ लिटर क्षमताको २२ सय सिलिण्डर अक्सिजन उत्पादन गर्छ । लिक्वीडबाट उत्पादन भएको अक्सिजन पाइपलाइन मार्फत बिरामीको बेडसम्म लगिएको छ । एक पटक लिक्वीड भर्न करिव ४ लाख रुपियाँ खर्च हुने बताइएको छ ।
कोसी अस्पतालले अक्सिजन खरिदमा मासिक १४ लाख रुपियाँ बढी रकम खर्च गर्दै आएकोमा पुस महिना यता अक्सिजन खरिद गरेको छैन । लिक्वीडमा मासिक ४ लाख रुपियाँ खर्च गर्दा प्लान्ट स्थापना भएपछि मासिक १० लाख रुपियाँ बचत भएको हो ।
अक्सिजन प्लान्टका लागि अस्पतालले पुरानै जनशक्ति परिचालन गरेका कारण अतिरिक्त आर्थिक भारसमेत नपरेको र लिक्वीड प्लान्ट सञ्चालन गर्न दातृ संस्थाले नै एक जना कर्मचारी दिएका कारण अस्पताललाई अतिरिक्त आर्थिक दायित्व नभएको बस्नेतले जानकारी दिनुभयो ।
सालनालबाट ग्यास उत्पादन
कोसी अस्पतालमा दैनिक हुने प्रसुतीका क्रममा उत्पन्न हुने सालनाल सदुपयोग गरेर ग्यास उत्पादन गर्न थालिएको छ । उर्जा मन्त्रालयको सहयोगमा भगवती गोबरग्यास कम्पनीले निर्माण गरेको ५० घनमिटर क्षमताको ग्यास प्लान्टबाट ग्यास उत्पादन सुरु भएको अस्पतालले जनाएको छ ।
तर उत्पादन भएको बायोग्यासको प्रयोगका सम्बन्धमा भने अस्पतालले निर्णय नलिएका कारण सदुपयोग हुन नसकेको अस्पतालका कर्मचारीको भनाई छ । उत्पादित बायोग्यास अहिले खेर गइरहेको छ । अस्पतालले छिट्टै ग्यास उपयोग सम्बन्धी कार्यविधि बनाएर निर्णय गर्ने जनाएको छ ।