गुलाफको फूल आयातमा कमी
लक्ष्मण पौडेल
भैरहवा, फागुन १ गते । भारतबाट नेपाल भित्रिनेगरेको गुलाफको फूलको आयात यसवर्ष घटेको छ । गत वर्षको तुलनामा यसवर्ष गुलाफको फूलको आयातमा झण्डै आधाले कमी आएको सरोकारवालाहरुको भनाइ छ ।
चालु आर्थिक वर्ष २०७८–७९ को माघ मसान्तसम्म १५ लाख ६५ हजार रुपियाँको रातो गुलाफ आयात भएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ । गतवर्ष सोही अवधिमा योभन्दा झण्डै दोब्बर २९ लाख ३८ हजार ८९३ रुपियाँको रातो गुलाफ भैरहवा नाका हुँदै भित्रिएको थियो ।
प्रणय दिवस (भ्यालेन्टाइन डे) लक्षित चकलेट र रातो गुलाफ आयातको कारण वार्षिक करोडौ रुपियाँ भारत जानेगरेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उपेन्द्र लामिछानेले चालु आर्थिक वर्षको सात महिनामा ४१ हजार २४ किलोग्राम गुलाफको फूल नेपाल भित्रिएको जानकारी दिनुभयो ।
यता, व्यवसायीहरुले भने यसवर्ष गुलाफको फूलको माग कम भएकाले आयात घटेको बताएका छन् । नेपाल पुष्प व्यवसायी सङ्घका केन्द्रीय सदस्य रमेश पाण्डेले गत वर्षभन्दा कम परिमाणमा फूलको माग भएकाले आयातमा कमी भएको बताउनुभयो । “कोभिड महामारीले पनि हुनसक्छ, यसवर्ष माग कम छ, त्यसैले आयात पनि कम भएको हो”–उहाँले भन्नुभयो ।
भारतबाट गुलाफको फूल मात्र नभई प्रणय दिवस लक्षित चकलेट पनि अत्यधिक मात्रामा भित्रिएको छ । भैरहवा भन्सारबाट मात्रै चालु आर्थिक वर्षमा ५४ करोड ८० लाख रुपियाँको चकलेट भित्रिएको छ । यो गत माघ मसान्तसम्मको तथ्याङ्क हो । भन्सार कार्यालयका अनुसार यसमध्ये ११ करोड ९४ लाख ७० हजार १३१ रुपियाँको चार लाख २६ हजार ३०७ किलो मिठाई (सेतो चकलेट सहित) र ४२ करोड ८५ लाख २८ हजार २२६ रुपियाको पाँच लाख ९० हजार ६६६ किलो चकलेटकाे छ ।
पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवसलाई विशेष महत्वका साथ लिनेगरेको पाइन्छ । प्रणय दिवस फेब्रुवरी १४ तारिखमा पर्छ, तर उक्त दिनभन्दा एक साता अघिदेखि नै यसलाई मनाउने प्रचलन छ । प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एक अर्कालाई गुलाफ दिएर मनाउने गर्दछन् ।
नेपालमा मागको तुलनामा रातो गुलाफको उत्पादन अत्यन्त न्यून रहेको हुँदा प्रणय दिवसलाई लक्षित गरी भारतको दिल्ली, कोलकाता, बैंग्लोर लगायत ठाउँबाट फूल आयात गर्नेगरेको व्यवसायीले बताएका छन् ।
नेपाल फ्लोरीकल्चर एशोसिएशनका अनुसार नेपालमा वार्षिक २० करोड रुपियाँको गुलाफ फूलको कारोवार हुनेगरेको छ । प्रणय दिवसकै लागि दुई करोडको कारोवार हुनेगर्छ । आन्तरिक उत्पादन ३० र बाह्य देशबाट आयात गरिने ७० प्रतिशत रहेको एशोसिएशनले जनाएको छ । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुनेगरेको छ । यस वर्ष प्रतिगुलाफ ७० देखि १०० रुपियाँसम्म पर्ने व्यवसायीहरुको भनाइ छ ।