खुला | प्रदेश |

प्रणय दिवसकै दिन सम्बन्ध विच्छेदका चार मुद्दा दर्ता

अमरराज नहर्की
तनहुँ, फागुन २ गते । तनहुँमा प्रणय दिवसकै दिन आज चार वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । प्राप्त तथ्याङ्कले तनहुँमा दम्पतीबीच असमझादारी बढ्दो रहेको देखिएको छ । पारिवारिक मनमुटाव हुँदा हरेक वर्ष सम्बन्ध विच्छेदको सङ्ख्या वृद्धि हुँदैगएको देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा तनहुँ जिल्ला अदालतमा ४ सय २८ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । गत आर्थिक वर्षमा ४८९ र आर्थिक वर्ष २०७६–७७ मा ३६१ जनाले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गराएको अदालतका सूचना प्रविधि सहायक सरोज तिमिल्सेनाले जानकारी दिनुभयो ।

अदालतमा सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका पर्नेगरेको तिमिल्सेनाले बताउनुभयो । वैदेशिक रोजगारीको कारण मनमुटाव भएपछि सम्बन्ध विच्छेदमा पुग्नेगरेको उहाँको भनाई छ । चालु आर्थिक वर्षको सात महिना अवधिमा सम्बन्ध विच्छेदका १३४ मुद्दा फछ्र्योट गरेको तिमिल्सिनाले बताउनुभयो । तीमध्ये ९० प्रतिशत वैदेशिक रोजगारीमा गएका युवासँग सम्बन्धित रहेको अदालतको तथ्याङ्क छ ।

विदेशबाट पतिले पठाएको रकमबाट पत्नीले आफ्नो नाममा जमिन र घर किन्ने अनि पति फर्केपछि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने प्रवृत्ति बढेको अदातलका शाखा अधिकृत देवी भण्डारीले जानकारी दिनुभयो । कतिपयले घरेलु हिंसा सहन नसकेकाले तथा स्वतन्त्र हुन चाहेकाले सम्बन्ध विच्छेदको मुद्दा अदालतलमा आउनेगरेको उहाँको भनाई छ ।

अदालतमा परेकामध्ये ९० प्रतिशत मुद्दा बिदेसिएका पुरुष र महिलासँग सम्बन्धित रहेको पाइएको श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । महिलामा जनचेतना आएकाले पनि सम्बन्ध विच्छेद बढेको कुँवरको बुझाई छ । ‘महिलारु दबाब सहन नसक्ने र विद्रोह गर्नेगरेको कारणले पनि सम्बन्ध विच्छेद बढेको पाइएको छ’ श्रेतेदार कुँवरले भन्नुभयो ।

नेपाल बार एसोशियन तनहुँका पूर्व अध्यक्ष तथा अधिवक्ता ऋषीराम पोख्रेलले आमा र श्रीमतीलाई सन्तुलनमा राख्न नसक्ने, दोस्रो विवाह गरिसकेपछि कानुनी रुपमा बच्न जेठी श्रीमतीलाई सम्बन्ध विच्छेदको लागि दबाब दिनेजस्ता कारणले पनि सम्बन्ध विच्छेद बढेको बताउनुभयो ।

कतिपय महिलाले सम्पत्ति आयआर्जनको माध्यम बनाउन विवाह गर्ने र सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको अधिवक्त पोख्रेलको बुझाई छ । सामाजिक सञ्जालको दुरुपयोगले पनि सम्बन्ध विच्छेद बढाएको श्रेतेदार कुँवरले बताउनुभयो । ‘सामाजिक सञ्जालको प्रयोगको क्रममा बसेको मायामा बहकिएर विवाह गरेको चार दिनमै सम्बन्ध विच्छेदको लागि आउने गरेको समेत भेटिएको छ’ श्रेतेदार कुँवरले भन्नुभयो ।

प्रणय दिवसकै दिन मुद्दा दर्ता
यसैबीच प्रणय दिवसकै दिन सोमबार तनहुँ जिल्ला अदालतमा चार जनाले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गरेका छन् । दिवसमा खुसीयाली मनाउनु पर्नेमा आज सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको तनहुँ जिल्ला अदालतकी डिट्ठा सविना पन्थले जानकारी दिनुभयो । आज परेको ७ वटा मुद्दामध्ये चारवटा सम्बन्ध विच्छेदको रहेको उहाँले जानकारी दिनुभयो ।