सम्झौताको पन्ध्र महिनापछि खार्पुदेखि ताखुलेक सडकमा विष्फोटन सुरु
राजन रावत
हुम्ला, फागुन ३ गते । पर्यटकीय क्षेत्र खार्पुदेखि ताखुलेक सडकको भित्तर गौडा खण्डमा सडक निर्माणका लागि सम्झौता भएको पन्ध्र महिनापछि चट्टान विष्फोटन कार्य सुरु भएको छ । नेपाली सेनाबाट विष्फोटक पदार्थ खरिद प्रकृयामा जाँदा समय लागेको कारण निर्माण कार्य ढिलाई भएको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले सडक निर्माणका लागि सम्झौता भएको पन्ध्र महिनापछि चट्टानी भीरको विष्फोट कार्य सुरु भएको जानकारी दिनुभयो । कार्यालयले खार्पुदेखि ताकुलेक सडकको खार्पुदेखि ग्याग्रुसम्म सडक निर्माणका लागि २०७६ साल भदौ ५ गते स्वच्छन्द निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । उहाँले विष्फोटक पदार्थ खरिदका लागि नेपाली सेनासँग लामो प्रकृया लागेको कारण चट्टानी भीरको निर्माण कार्य ढिलो भएको बताउनुभयो । कुल सात दशमलव ३२ किलोमिटर सडक खण्ड मध्य चार सय मिटर कडा चट्टान रहेको छ ।
चट्टानी क्षेत्र बाहेक अन्य क्षेत्रको सडक भने गतवर्ष नै निर्माण कार्य सम्पन्न भएको थियो । कार्यालयलाई विष्फोटक पदार्थ प्राप्त हुने बित्तिक्कै निर्माण कम्पनीलाई जिम्मा लगाएर सेनाकै उपस्थितिमा विष्फोट गर्ने कार्य सुरु भएको हो । आवश्यक विष्फोट पदार्थ प्राप्त भएकोले अब सडक निर्माण कार्यले तीब्रता पाउनेछ । हाल निर्माण स्थलमा विष्फोट गर्ने कार्य र स्काभेटरबाट निर्माण गर्ने कार्य एकसाथ भइरहेको छ ।
छोटो समयमा निर्माण सम्पन्न गर्नुपर्ने सो सडक आवश्यक विष्फोट पर्दाथ नभएकै कारण निर्माण कार्य ढिलाई भएको हो । सडक निर्माणका लागि चार करोड ६५ लाख नौ हजार ८९६ बजेटमा निर्माण कम्पनीसँग कार्यालयले सम्झौता गरेको छ । यसअघि सो कार्यालयले सोही सडक खण्डको ग्याग्रुदेखि दोजाम गाउँसम्म सडक निर्माण कार्य सम्पन्न गरिसकेको छ ।