साहित्यिक तीर्थस्थल कपिलधाम
तुलसीहरि कोइराला
नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पु-याउनुभएका व्यक्तित्वका सम्मानमा उहाँहरूको भौतिक अवसानपश्चात् निर्माण गरिएका शालिकहरू हामीले सडकका चोक, गल्ली तथा पार्कहरूमा यत्रतत्र देख्दैआएका छौँ । त्यसरी राखिएका शालिकहरू उक्त स्थानमा राख्न उपयुक्त थियो कि थिएन ? राखिएपछि उचित रेखदेख र संरक्षण भएको छ कि छैन ? भन्ने सम्बन्धमा शालिक राख्ने गुठी–प्रतिष्ठान वा संस्थाले चासो नराख्दा धेरै व्यक्तित्वका शालिकको दुरवस्था पनि देखिएको छ । महत्त्वपूर्ण स्थानमा लामो समयदेखि ठडिएका शालिक पनि समयक्रममा ढालिएर त्यसै स्थानमा अर्को व्यक्तित्वको शालिक ठड्याइएको पनि देखिएको छ । यसो गरिँदा प्रश्न उठ्ने गरेको छ– शालिक राखिएको व्यक्तित्व सर्वस्वीकार्य हुन नसकेको कारणले हो त ?
काठमाडौँको कालीमाटी चोकमा अवस्थित राजा महेन्द्रको शालिक विस्थापित गरेर नेपालभाषाका महाकवि चित्तधर हृदयको शालिक राखिएको छ । जनकपुरमा आदिकवि भानुभक्त आचार्यको शालिक मधेस आन्दोलनमा भत्काइयो । भानुचोकले प्रसिद्धि पाएको चोकलाई शालिक नै नभए पनि ‘भानुचोक’ भन्न छोडिएको छैन । मोरङको कर्चिया चोकमा रहेको बीपी कोइरालाको शालिक, बाराको कलैयामा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक तराई–मधेस आन्दोलनका नाममा ढालिए । यी त केही उदाहरण मात्र हुन्, यसरी ढालिएका शालिकहरू धेरै छन् ।
राजा–महाराजाकै शालिक पनि व्यवस्था परिवर्तन भएकै कारणले ढालिनु उचित होइन । इतिहासका रूपमा पुर्खालाई देखाउने नासो हुन् शालिकहरू । राष्ट्रिय विभूति घोषित व्यक्तित्व, देशको कला, साहित्य, भाषा र संस्कृतिका क्षेत्रमा होस् अथवा राजनीतिका क्षेत्रमा होस्, महत्वपूर्ण योगदान पु-याएका व्यक्तित्वको सम्मान गर्ने भनेकै उनीहरूको सम्झना गरेर हो । शालिक निर्माण गर्नु भनेको उनीहरूको योगदानको चिरकालसम्म स्मरण गर्नु हो । शालिक प्रतिष्ठानकै बेला दूरगामी प्रभाव मूल्याङ्कन गर्न नसकिएको कारणले पनि समयक्रममा प्रत्युत्पादक सिद्ध भएको पो हो कि ।
कतिपय व्यक्तित्वका शालिक निर्माण गर्ने निर्णय गरिएर पनि राख्ने ठाउँको अभावका कारण योजनामै थन्किएको अवस्था पनि छँदैछ । अग्रणी साहित्यिक संस्था त्रिमूर्ति निकेतनले त्रि–नारीरत्नका शालिक निर्माण गरिसकेर पनि उपयुक्त स्थानको अभावमा प्रतिष्ठापन गर्न सकिरहेको छैन । यता केही वर्षअघि सञ्चारग्रामको छेउमा राखिएको त्रिमूर्ति (कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्यसम्राट् बालकृष्ण सम)का शालिक पनि रिङरोड विस्तारको क्रममा हटाउनुपर्ने अवस्था आउने पो हो कि भन्ने चिन्ता साहित्यिक वृत्तमा बढेको छ । यस्तै समस्याको समाधानका रूपमा कपिलवस्तुको सुन्दर नगरी कपिलधाममा ‘साहित्य चौतारी’को स्थापना गरिएर साहित्यिक धामको रूपमा अघि बढाइएको छ ।
साहित्य चौतारीमा अहिलेसम्म बीस जना विविध विधाका स्रष्टाका शालिक स्थापना भइसकेका छन् र शालिक थपिने क्रम जारी नै छ । विभिन्न स्रष्टाका नाममा खुलेका प्रतिष्ठान तथा गुठीहरू स्रष्टाको अमरत्वको लागि शालिक स्थापना गर्ने सोचमा हुनसक्छन् । त्यस्तैगरी, कुनै दिवङ्गत स्रष्टाका छोराछोरी, नातिनातिनी सक्षम छन् भने आफ्ना पूजनीय व्यक्तित्वका नाममा एक–दुई लाख रुपियाँ खर्च गर्न पछि नहट्नेहरू पनि धेरै छन् । मन र धन भएर पनि उचित स्थानको अभावमा योजनामै खुम्चिएर रहेकाहरूले साहित्य चौतारीमा आफ्ना अग्रजको शालिक प्रतिष्ठापन गर्न सक्नुहुनेछ ।
कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वार्ड नम्बर ९ मा रहेको ‘कपिल आरोग्य मन्दिर, कपिलधाम’ परिसरमा ‘साहित्य चौतारी’ खडा गरेर स्रष्टाका शालिक स्थापना गर्न थालिएको पाँच वर्ष भयो । यसबीचमा अठार जना मूर्धन्य स्रष्टाका शालिक स्थापना भएर अनावरण भइसकेका छन् भने दुई जनाका अनावरणको पर्खाइमा छन् ।
आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, रश्मिराज आत्रेय, दधिराम मरासिनी, जनकविकेशरी धर्मराज थापा, लीलाध्वज थापा, युगकवि सिद्धिचरण श्रेष्ठ, पूर्णप्रसाद ब्राह्मण, राजीवलोचन जोशी, रुद्रराज पाण्डे, लोकप्रियादेवी जोशी, भवानी भिक्षु, वाशु शशी, मास्टर मित्रसेन थापामगर, भीमकान्त पन्थी, डा. टीकाराम पन्थी, प्राडा. कुमारबहादुर जोशी र कृष्णप्रसाद दुवालका शालिक प्रतिष्ठापन भएर अनावरण भइसकेका छन् । तयारी अवस्थामा रहेको स्रष्टा मङ्गलप्रसाद नेपालको शालिकको अनावरण हुन बाँकी छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पिता साहित्यकार मङ्गलप्रसाद नेपालको शालिक अनावरणका लागि समय तय भइसकेर पनि कोरोना सङ्क्रमणका कारण सहज वातावरण बनेपछि मात्रै अनावरण गरिने ‘कपिल आरोग्य मन्दिर’का अध्यक्ष शङ्करप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार अर्का एक जना स्रष्टाको शालिक पूर्ण तयारी अवस्थामा छ । तर उक्त शालिकको शिलापत्र तयार हुन बाँकी रहेकै अवस्थामा ‘साहित्य चौतारी’ स्थापनाका अभियन्ता प्राडा. विष्णुराज आत्रेय ‘लाटोसाथी’को असामयिक निधन भएका कारण उक्त शालिक कसको हो भन्ने आफूलाई जानकारी नभएकोले सोधखोज गर्न बाँकी नै रहेको आचार्यले बताउनुभयो । यी शालिकहरू अधिकांश साहित्यिक स्रष्टाका छन् भने केही समाजसेवी र मास्टर मित्रसेन प्रथम गायक हुन् । यसबीचमा साहित्यकार कृष्णप्रसाद नेपाल र रुद्रमणि ज्ञवालीका शालिक राख्नका लागि आधारशिला तयार पारिसकिएको छ र मूतिकारद्वारा शालिक निर्माण कार्य भइरहेको छ ।
विभिन्न समयमा स्थानीय तथा सुकुम्बासीका नाममा अतिक्रमणमा पर्दैआएको बाणगङ्गा नगरपालिका वार्ड नम्बर ७ र ९ को बीचमा पर्ने एक सय २० बिघा वनक्षेत्रलाई ‘धार्मिक वन’ नामकरण गरेर कपिल ऋषिको तपोभूमिका रूपमा संरक्षण गरिएको ‘कपिल आरोग्य मन्दिर’का अध्यक्ष शङ्करप्रसाद आचार्यले बताउनुभयो । धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार कपिल ऋषिको आश्रम यसै क्षेत्रमा थियो र उनले सिद्धार्थ गौतमलाई शिक्षा दिएका थिए । कपिलमुनिको आश्रममा बसेर सिद्धार्थ गौतमले शिक्षा ग्रहण गरेको पवित्र भूमिमा हाल गुरुकुल विद्यालय सञ्चालनमा छ ।
सञ्चालन खर्चको अभावमा धेरै बटुकलाई राख्न नसकिएको भए पनि हाल १४ जना बटुक आवासीय गुरुकुलमा शिक्षा ग्रहण गरिरहेका छन् । बिहान–बेलुका आरती र शङ्ख ध्वनिले कपिल धाम गुञ्जायमान हुने गरेको छ । यस क्षेत्रलाई आयुर्वेदिक औषधि उत्पादन, योग तथा प्राकृतिक चिकित्सा, धर्म–संस्कृतिको नमुना क्षेत्र, गुरुकुलीय शिक्षा, आश्रम, गौशाला, साहित्य र संस्कृतिको साझा थलोको रूपमा विकास गर्ने लक्ष्यका साथ काम थालिएको अध्यक्ष शङ्करप्रसाद आचार्यले जानकारी दिनुभयो । प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले दिनुभएको थियोे । आश्वासन अनुसारको सहयोग भने प्रदेश सरकारबाट हुनसकेको छैन । सहयोगका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको उहाँले बताउनुभयो ।
कपिलवस्तु बजारक्षेत्रबाट नजिकै पर्ने भएकोले पनि यो क्षेत्रको विकास गर्न सकिएमा धार्मिक पर्यटनको प्रशस्त सम्भावना देखिन्छ । गौतम बुद्धले २९ वर्ष बिताएको शुद्धोधनको दरबार रहेको तिलौराकोटबाट पाँच किलोमिटरको दूरीमा पर्ने भएकोले पनि यस क्षेत्रलाई महŒवका साथ हेर्न आवश्यक देखिन्छ । कपिलमुनिको तपोभूमि कपिलधामलाई तिलौराकोटसँगै जोडेर धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके यसको महत्त्व थप वृद्धि हुने थियो । लुम्बिनीबाट २७ किलोमिटरको दूरीमा रहेको तिलौराकोट प्राचीन कपिलवस्तुको राजधानी थियो । तिलौराकोट र प्रसिद्ध सिमसारक्षेत्र जगदीशपुर ताल, धार्मिक महत्त्वको बाणगङ्गा नदी नजिक पर्ने कपिलधाम महत्त्वपूर्ण स्थल भएर पनि ओझेलमा परेको छ । प्रदेश सरकारले यसको महत्त्वबोध गरेर विकास निर्माणमा अग्रसर हुन आवश्यक छ ।
साहित्यिक क्षेत्रका कामलाई अघि बढाउनका लागि यसै परिसरमा लुम्बिनी वाङ्मय प्रतिष्ठानको भवन निर्माण गरिएको छ । प्रतिष्ठानले पुस्तकालय स्थापना, भाषाभाषीको संरक्षण एवं स्रष्टाका शालिकहरूको प्रतिष्ठापन र संरक्षणमा जोड दिँदै आएको यसका अध्यक्ष हिमलाल ज्ञवालीले केहीअघि बताउनुभएको थियो । साहित्यकार ज्ञवालीको केही समयअघि निधन भएका कारणले पनि साहित्यिक उन्नयनमा क्षति पुगेको छ । स्रष्टाका शालिक स्थापनाका लागि छुट्टै समिति वा संस्था भने खडा गरिएको छैन । कपिल आरोग्य मन्दिर र लुम्बिनी वाङ्मय प्रतिष्ठानको समन्वयमा सल्लाहकार प्रा.डा. विष्णुराज आत्रेय ‘लाटोसाथी’ले विशेष भूमिका निर्वाह गर्दै आउनुभएको थियो । लाटोसाथीको पनि निधन हुँदा साहित्य चौतारीको योजनामा निकै ठूलो धक्का पुगेको छ । दुई वर्षको अवधिमा एक सय पचास जनाका शालिक खडा गरिसक्ने योजना तयार पारिएकोमा कोरोना सङ्क्रमणका कारण र आत्रेय नरहनुभएका कारणले पनि बीस जनाको मात्र शालिक प्रतिष्ठापन हुन सकेको हो ।
शालिक राख्न योग्य स्रष्टाका शालिकहरू राखिँदै जाने कपिल आरोग्य मन्दिरका अध्यक्षको भनाइ छ । शालिक राख्न योग्य को हो र को होइन भन्ने मापन कसरी गरिन्छ ? भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ– ‘सिर्जनाको बलले नाम चलेका स्रष्टाको राख्दछौँ । यसका लागि उहाँहरूका परिवारजन अथवा उहाँहरूका नाममा स्थापित संस्थाले आवश्यक पर्ने खर्च जुटाउनुपर्छ । शालिक आफूखुशी बनाउँदा पनि हुन्छ तर शालिक अर्धकदको नै हुनुपर्छ । स्तम्भ निर्माणका लागि भने साहित्य चौतारीलाई ७० हजार रुपियाँ अग्रिम उपलब्ध गराउनुपर्छ । यसलाई साहित्यिक धामका रूपमा विकास गर्ने लक्ष्य राखेर विष्णुराज आत्रेय ‘लाटोसाथीले अघि सार्नुभएको योजनामा हामी निरन्तर लागिरहनेछौँ ।’
शालिकमा ठडिन लायक स्रष्टा हो–होइन भन्ने निक्र्योल गर्ने समिति नहुनु र एकाध व्यक्तिकै निर्णयमा राख्न पाउनुले भोलिका दिनमा शालिक प्रतिष्ठापनमा विकृति नदेखिएला भन्न सकिने अवस्था भने छैन । आफ्ना सन्तान नभएका जीवित स्रष्टाले आफ्नो शालिक जीवनकालमै राखिदिन आग्रह गरेर खर्च उपलब्ध गराएमा पनि राखिदिने भन्ने लाटोसाथीको योजनामा थियो । धार्मिक शास्त्रले पनि आफ्नो काजक्रिया जीवनकालमा आफैँले गर्न चाहेमा गर्न हुन्छ भनेको छ भने शालिक राख्न किन नहुनु भन्ने उहाँको तर्क थियो । यसै भनाइलाई आधार मानेर हेर्ने हो भने पैसाको बलमा पुस्तक लेखाएर साहित्यकार कहलिएकाहरूले दुई–चार लाख खर्च गरेर शालिकमा ठडिने रहर नगर्लान् भन्न सकिँदैन । त्यसो भयो भने साहित्य चौतारीको गरिमा कुन रूपमा अघि बढ्ला भन्ने चिन्ता पनि उत्तिकै छ । तर यसको गरिमामा आँच आउन नदिने अध्यक्ष आचार्य बताउनुहुन्छ । देशको वौद्धिक सम्पत्तिको रुपमा हेरिने भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पु-याएर दिवङ्गत हुनुभएका व्यक्तित्वको सम्मान गर्दै साहित्य चौतारीलाई ‘स्रष्टा धाम’का रुपमा विकसित गरिनु आवश्यक छ ।