दार्चुलामा मिलमा बेरिएर एक पुरुषको ज्यान गयो
लाेकेन्द्र जाेशी
दार्चुला, फागुन ८ गते । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा एक पुरुषको मिलको फित्तामा बेरिएर ज्यान गएको छ । गहुँ, मकै पिसानीका लागि सञ्चालन गरेको आफ्नै मिलको फित्तामा बेरिएर शैल्यशिखर नगरपालिका–६ का ५० वर्षीय धनसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी, निमित्त प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो ।
आइतबार बिहान ९ बजेतिर आफ्नै मिलमा अन्न पिस्ने बेला मिलको फित्तामा बेरिएर धामीको ज्यान गएको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक नारायणसिंह बिष्टको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ, प्रहरी निरीक्षक विश्वकर्माले भन्नुभयो, गहुँ पिस्ने बेला आफ्नै मिलको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।