हिमाली जिल्ला ताप्लेजुङमा मकै खेती लगाउन सुरु
चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १० गते । ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकाका किसानले मकैखेती लगाउन (छर्न) सुरु गरेका छन् । मकैबाली गलाउने मौसमको सुरुवातमै यसवर्ष वर्षा भएपछि अहिले किसानले खेती लगाउन सुरु गरेका हुन् ।
आकासेपानीको भर पर्नुपर्ने अवस्था रहँदै आएकोमा यसवर्ष समयमै वर्षा भएपछि किसानले धमाधम मकै खेती लगाउन सुरु गरेका हुन् । खेतबारी खनजोत गर्ने समयमा वर्षाको आवश्यक पर्ने हुँदा यो वर्ष हिमपातसँगै वर्षा भएकाले मकैखेती सुरु गर्न सजिलो भएको किसान बताउँछन् ।
सिदिङ्वा गाउँपालिका–१ कालिखोलाका स्थानीय गोपाल दाहालले हिजोआज गाउँका किसानले धमाधम मकैखेती लगाउन थालेका बताउनुभयो । खेती लगाउने मौसमको सुरुमै हिमपातसँगै वर्षा भएको र समयमै लगाएको खेतीबाट राम्रो उत्पादन हुने हुँदा मकैखेती लगाउनमा किसान व्यस्त भएका दाहालको भनाइ छ । उहाँका अनुसार हिजोआज मौसम धुम्मिएर प्रतिकूल भएमा हिमपात हुने भए पनि त्यसको कुनै प्रवाह नगरी किसानले मकैखेती लगाउँदै आएका छन् ।
यसरी सिदिङ्वा गाउँपालिका मात्र नभई जिल्लाका सबै क्षेत्रका किसानले मकैखेती लगाउन सुरु गरेका छन् । कुनै क्षेत्रमा किसानले मकै छर्न सुरु गरेका छन् भने कुनै क्षेत्रका किसान मकैखेती लगाउनका लागि खेतीबारी खनजोत गर्न र गाईवस्तुको गोठेमल बोक्न भ्याइनभ्याई हुँदै आएका छन् । स्थानीयका अनुसार गहुँबाली लगाएका किसानले मकैखेती लगाउनलाई यतिबेला गहुँ थन्क्याउने चटारो पनि छ ।
फागुन महिनादेखि सुरु गरेर चैत महिनाभर नै मकैखेती लगाउँदा हुने भए पनि यसवर्ष सुरुमै वर्षा भई दिएकाले खेती लगाउनलाई हतार भएको किसान बताउँछन् । कुनै वर्ष पानी नपर्दा समयमा खेती लगाउन नपाउने गरेका किसानले आकाशे वर्षा भएको मौकालाई उम्काउन नहुने बताउँछन् । जिल्लाका तल्लो औल क्षेत्रका किसानले हिजोआज लगाएको मकैखेती उठाएर धानखेती लगाउँछन् भने हिमाली लेक क्षेत्रमा धानखेती नहुने हुँदा मकैखेतीसँगै केही समयपछि त्यही मकैबारीमा कोदोखेती लगाउने गरेका छन् ।
यता ताप्लेजुङमा १६ हजार १९८ हेक्टर क्षेत्रफलमा मकैखेती लगाउने गरिएको कृषि ज्ञान केन्द्र, पाँचथरले जनाएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट ५७ हजार ९८८ मेट्रिकटन मकै उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र, सम्पर्क कार्यालय ताप्लेजुङका प्राविधिक सहायक केदार धितालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा खाद्यान्न बालीमध्ये सबैभन्दा बढी मकैखेती हुने गरेको छ ।