जाजरकोटको छेडा बजारमा सिसिटिभी क्यामेरा जडान
सहदेव बस्नेत
जाजरकोट, फागुन ११ गते । जाजरकोटको छेडाबजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । सुर्खेत र जाजरकोट जिल्लाको सिमाना शिवालय गाउँपालिका–१ को छेडाबजारमा क्यामेरा जडान गरिएको हो ।
शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले गाउँपालिकाको पाँच लाख लागतमा क्यामेरा जडान गरिएकोे बताउनुभएको छ । जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको छेडा बजारमा विभिन्न अापराधिक घटनाहरु नियन्त्रण हुने विश्वास लिएको अध्यक्ष शाहीको भनाइ छ ।
जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले दुई जिल्लाको प्रवेश नाका रहेकाले कुनै अापराधिक घटना घटाई जिल्ला बाहिरिने तथा प्रवेश गर्ने व्यक्ति तथा सवारी साधनको निगरानीका लागि क्यामेरा जडान गरिएको बताउनुभयो । सिसिटिभी क्यामेराले जिल्लाको शान्तिसुरक्षाको अवस्थामा सुधार ल्याउने विश्वास लिइएको डिएसपी थापाको भनाइ छ ।
त्यस्तै आर्थिक अभावका कारण सदरमुकाम खलङ्गामा बिग्रिएका सिसिटिभी क्यामेरा मर्मतका लागि आर्थिक स्रोत जुटाउन स्थानीय तहहरुसँग आग्रह गरिएको प्रहरी प्रमुख थापाको भनाइ छ ।