गाउँको नमुना सडकमा गाईबाख्रापालन
गोपी ज्ञवाली
नवलपरासी, फागुन ११ गते । नवलपरासीको रामग्राम नगरपालिकाले करोडाैं रुपियाँ लगाएर बनाएका गाउँका नमुना सडकहरुमा अहिले स्थानीय बासीिन्दाहरुले गाईवस्तु बाँध्ने गरेका छन् ।
नवलपरासीको जिल्ला समदमुकाममा रहेको रामग्राम नगरपालिकाकाले वार्ड नम्बर ७ को उजैनी, वार्ड नम्बर ९ को जोकवार, वडा नम्बर १० को लंकहवा लगाएतका ग्रामीण क्षेत्रलाई केन्द्र बनाएर केही समय पहिला मात्र करोडौ रुपियाँको लागतमा ग्रामीण सडकहरुलाई नमूना सडकको रुपमा निर्माण गरेको थियो ।
ग्रामीण क्षेत्रमा बनाइएका यी सडकहरु अहिले हिँडडुलभन्दा पनि गाईवस्तु बाँध्ने, गोबर पाथन (गोबरका गुइँठा बनाउने काम), विभिन्न प्रकारका निर्माण सामग्री राख्न, परालसहित अन्य खाद्यान्न सुकाउने काममा प्रयोग भएको छ ।
दुई वर्ष पहिला निर्माण सम्पन्न गरिएका यी नमूना सडकहरुको छेउछाउमा बस्ने अधिकांश मानिसहरु ग्रामीण क्षेत्रका मुख्य रुपमा किसान परिवेशका रहेको हुनाले यो सडकमा कार, जिपलगायतका सवारीका साधन चलाउनुभन्दा पनि गाईवस्तु बाँध्ने र विभिन्न खाले बालीहरु सुकाउन सहज भएको गाउँलेहरुले बताउने गरेका छन् ।
नमुना गाउँको रुपमा विकास गरिएका यी गाउँहरुमा चौडा पक्की सडक, सडकको छेउमा फुटपाथ बनाइएका छन् । अहिले फुटपाथ गोबरका गुइँठा बनाउन, बाख्रा, गाईवस्तु बाँध्ने काममा प्रयाेग भएको छ ।