बर्डफ्लु देखिएपछि पाँच हजार कुखुरा मारिए
शालिग्राम नेपाल
चितवन, फागुन १२ गते । बर्डफ्लु भएको पुष्टि भएपछि भरतपुरको गौरिगञ्जमा रहेको एउटा फर्मको हाँस कुखुरा सवै नष्ट गरिएको छ । भरतपुर महानगरपालिका ८ गौरीगञ्जमा रहेको महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिमा सङ्क्रमण फैलिएपछि त्यहाँ भएका पाँच हजारभन्दा धेरै कुखुरा नष्ट गरिएका हुन् । केही दिन अघिदेखि कुखुरा मर्न थालेपछि नमुना परीक्षण गरिएको थियो ।
बर्डफ्लूु रोग भन्ने पुष्टि भएपछि बिहीबार त्यहाँ भएका हाँस कुखुरा सवै नष्ट गरेका हौ भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार फर्मका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अण्डा नष्ट गरिएको छ । फर्मलाई शिल गरेर नजिकै रहेको एउटा मासु पसल र वरिपरि पालिएका १८ कुखुरासमेत नष्ट गरिएको उहाँले बताउनुभयो । सो फर्ममा तीन खोर छन् ।
एउटा खोरमा २१ महिनाका एक हजार ५०० कुखुरा रहेकोमा मरेर ४६ वटा बाँकी थिए । दोस्रोमा सात महिनाका दुई हजार ४०० कुखुरा राखिएकोमा मरेर २३२ बाँकी थिए । तेस्रोमा २८ दिनका पाँच हजार १०० कुखुरा राखिएकोमा मरेर पाँच हजार २७ बाँकी रहेको केन्द्रका प्रमुख डा. न्यौपानेले जानकारी दिनुभयो ।
केही दिनअघि जिल्लाकै राप्ती नगरपालिका –६ मा रहेको अनिता पशुपन्छी कृषि फर्ममा बर्डफ्लुु देखिएको थियो । उहाँले जिल्लामा ठूलो सख्यामा कुखुरा भएकाले उच्च सावधानी अपनाउन कृषकलाई अनुरोध गरिएको बताउनुभयो । जिल्लाको पूर्वी र पश्चिम दुवै क्षेत्रमा बर्डफ्लुु देखिएपछि कृषकले उच्च सावधानी अपनाउन थालेका छन् ।