खुला |

बिरामी कुरुवालाई पनि खाना

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १३ गते । महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरका बिरामीका कुरुवालाई पनि खाना खुवाइने भएको छ । सेन्टरले सातौँ वार्षिकोत्सवको अवसर पारेर बिरामीका आफन्त कुरुवालाई पनि खाना खाने व्यवस्था गरेको हो । यसअघि ट्रमा सेन्टरमा बिरामीलाई मात्र खाना खान दिइन्थ्यो ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद जाशीले ट्रमा सेन्टरमा बिरामीहरू गाउँबाट आउने हुनाले समस्यामा पर्ने गरेको बताउनुभयो । उहाँले उपकार सेवा नामक सङ्घसंस्थाको सहयोग र समन्वयमा बिरामीका कुरुवाका लागि खाना खाने व्यवस्था गरिएको बताउनुभयो । सेन्टरमा हाल १५० बेड रहेकाले उक्त बेडका कुरुवालाई खाना खुवाउन सुरु गरिएको जानकारी दिनुभयो ।

यसैबीच, राष्ट्रिय ट्रमा सेन्टरमा गत वर्ष ७५५ जना विपन्न नागरिकले दुई करोड ९० लाख बराबरको स्वास्थ्य सेवा लिएका छन् । सेन्टरको सातौँ वार्षिकोत्सवमा निर्देशक डा. जोशीले स्पाइनल इन्जुरी, हेड इन्जुरी र बोन क्यान्सर भएका बिरामीले उक्त सेवा लिएको बताउनुभयो ।

उहाँले चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म एक करोड २० लाख सोधभर्ना भुक्तानी प्राप्त भएको बताउनुभयो । ट्रमा सेन्टरमा हालसम्म जनआन्दोलन र मधेस आन्दोलनमा घाइते तथा अपाङ्गता भएका ३५० जनाले आठ लाख बराबरको उपचार सेवा लिएको उहाँको भनाइ छ । उहाँले जनआन्दोलन र मधेस आन्दोलनका घाइते अपाङ्गका लागि पुनः स्थापना एवं हेरचाह निर्देशिका २०६८’ मा भएको व्यवस्थाअनुसार अस्पतालले सेवा दिँदै आएको बताउनुभयो ।