धनुषामा ठूलो मात्रामा अवैध सालको काठ बरामद
विजयकुमार साह
ढल्केवर, फागुन २४ गते । डिभिजन वन कार्यालय धनुषाले ठूलो मात्रामा अवैध सालको काठ बरामद गरेको छ । वन कार्यालयले जिल्लाको धनुषाधाम नगरपालिका–६ मालटोलबाट सोमबार १८५ थान सालको गोलिया बरामद गरेको हो ।
डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख सुनिलकुमार कर्णले मालटोलस्थित खेतबारीमा लुकाई छिपाई राखिएको अवस्थामा पाँच ट्याक्टर अवैध सालको काठ नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले २५५.०९ क्यूफिट काठ बरामद भएको भएको भन्नुभयो । जसमा १८१ थान गोलिया र चार थान चिरान गरी १८५ थान रहेको छ ।
डिभिजनल प्रमुख कर्णले वन कार्यालय धनुषाले यति ठूलो मात्रा अवैध सालको काठ बरामद गरेको यो पहिलो घटना भएको दावीसमेत गर्नुभयो । ‘बढीमा २० थानसम्म अवैध काठहरु बरामद भएको जिल्लामा तथ्याङ्क छ । ठूलो परिमाणमा अवैध काठ बरामद भएको यो नै पहिलो पटक हो, उहाँले भन्नुभयो ।’
वन कर्मचारी, जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको सहयोग काठ नियन्त्रणमा लिन सफल भएको बताउनुहुँदै डिभिजनल प्रमुख कर्णले बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको जानकारी दिनुभयो ।
बरामद सालको काठ राष्ट्रिय वनबाट कटान गरी त्यहाँ थुपारिएको हुनुपर्छ । वनबाट काठ कटान गर्नेहरुको पहिचान पत्ता लगाउन कर्मचारी खटाएको र पहिचान खुलेपछि संलग्नहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउने डिभिजनल प्रमुख कर्णले भन्नुभयो ।
केही दिन यता राष्ट्रिय तथा सामुदायिक वनबाट बहुमुल्य काठको तस्करी बढेको जनगुनासो बढेपछि वन कर्मचारी र वन उपभोक्ता समितिका पदाधिकारी अवैध काठ ओसारपसार तथा चोरी तस्करी नियन्त्रण गर्न वनमा गस्ती बढाएको छ ।