खुला |

बेँसीसहर–डुम्रे सडक अवरुद्ध

बेलिना थापा
लमजुङ, फागुन २५ गते । तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरका स्थानीयवासिन्दाले सडक अवरुद्ध गरेका छन् । विद्यालयको लापरबाहीले विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीयवासिन्दाले सडकमा टायर बालेर सडक अवरुद्ध रहेका हुन् ।

लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी १८ वर्षीय सनिज श्रेष्ठको मंगलबार मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर मृत्यु भएको थियो । बाइसजाँगर घर भएका श्रेष्ठ फ्युटरस्टारकै होस्टेलमा बसेर पढ्दै आएका थिए । बिदाको दिन वार्डेनले नै लगेर नियोजित रुपमा पौडी खेल्न लगाएको र मृत्युको कारण वार्डेन र विद्यालय परिवार रहेको पीडितपक्षको आरोप छ ।

पत्रकार प्रमोद अधिकारीका अनुसार सडक अवरोधले बुधबार बिहानैदेखि यातायात सेवा ठप्प भएको छ । बाइसजाँगरका वासिन्दाले टायर बालेर सडक अवरोध गरेको बताउनुभयो । स्थानीयको प्रदर्शनले डुम्रे–बेंसीसहरको तनहुँ खण्ड र प्रशासनको निषेधाज्ञाले लमजुङ खण्डमा यातायात ठप्प छ ।

घटनाको विषयलाई लिएर स्थानीयले संघर्ष समिति बनाएका छन् । उक्त समितिले आवश्यक परे वार्ता गर्ने स्थानीय हृदय भट्टले बताउनुभयो । स्थानीयको विभिन्न माग राखेर सडक अवरोध गरेको र डुम्रेबाट आएका सवारी साधन बाइसजाँगरमा रोकिएको बताउनुभयो । होस्टेलका विद्यार्थीलाई जवरजस्ती पौडी खेल्न लगेको, पौडी खेल्न अगाडि धकेलेको, आफन्तलाई थाहै नदिइ शव लगेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । उनीहरुले विद्यालयका संस्थापक बाबुराम पौडेलसहित पौडी खेल्नसँगै गएका शिक्षक र विद्यार्थीमाथि सत्यतथ्य छानविन गरी कारबाही गर्न माग गरेका छन् ।

घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका पीडितपक्षले मंगलबार साँझ विद्यालयको २ वटा बस र एउटा भ्यानको सिसामा तोडफोड गर्नुका साथै स्कुलको गेटमा समेत भत्काएको प्रहरीले बताएको छ । प्रदर्शन बढ्दै गएपछि अस्रुग्यास र हवाइ फाइर प्रहार गर्दै लाठीचार्ज समेत गरेको थियो । बुधबार ठूलो सङ्ख्यामा आएर विद्यालय नै जलाउने तयारीमा लागेको सूचना प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको लमजुङका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो । प्रहरीका अनुसार होस्टेल वार्डेन शिक्षक सरोज अमलिया र संगै गएका एकजना विद्यार्थीलाई नियन्त्रणमा लिइएको छ ।