खुला | प्रदेश |

काँग्रेस धनुषाको दोस्रो चरणको निर्वाचनमा पञ्जियार र यादवबीच प्रतिस्पर्धा

लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन २५ गते । नेपाली काँग्रेस १४ औ धनुषा जिल्ला अधिवेशन अन्तर्गत सभापतिका कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण निर्वाचन दास्रो चरणमा गएको छ । दोस्रो चरणमा योगेन्द्र पञ्जियार र सन्तोषकुमार यादवबीच हुने भएको छ ।

मंगलबार जनकपुरधामस्थित पार्टी कार्यालयमा अबेर रातिसम्म भएको मत गणना सम्पन्नपछि सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो । काँग्रेसको विधान अनुसार ५१ प्रतिशत मत प्राप्त गर्न नसके पुनः प्रमुख दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रावधान छ ।

सभापति पदका लागि योगेन्द्र पञ्जियार, सन्तोषकुमार यादव र दिनेशप्रसाद प्रसैला यादव गरी तीन जनाले उम्मेदवारी दिनुभएको थियो । तीन जना उम्मेदवारमध्ये पहिलो स्थानमा योगेन्द्र पञ्जियार र दोस्रो स्थानमा संतोषकुमार यादव आउनुभएको थियो । सभापतिका उम्मेदवार योगेन्द्र पञ्जियारले १२ सय ४८ मत, संतोष यादवले ८ सय ८३ मत र दिनेशप्रसाद प्रसैला यादवले ६ सय ३० मत प्राप्त गरेका छन् । प्राप्त मतमध्ये १ सय ५१ मत बदर भएको छ ।

सभापति पदका तीन उम्मेदवारहरु निधि पक्षका योगेन्द्र पजियार, देउवा पक्षका संतोषकुमार यादव र कोइराला पक्षका दिनेशप्रसाद प्रसैला यादव रहेका छन् । सभापतिका लागि ५१ प्रतिशत पुगाउन १ हजार ४ सय ८६ मत प्राप्त गर्नुपर्नेमा प्रमुख दुई उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि पञ्जियार र यादवबीच पुनः प्रतिस्पर्धा हुने भएको हो ।
धनुषामा जिल्ला अधिवेशनमा ३ हजार १ सय ७३ कुल मतदाता रहेकोमा सोमबार सम्पन्न निर्वाचनमा २ हजार ९ सय १२ जनाले मतदान गरेका थिए । मतदानमा २ सय ६१ जना अनुपस्थित रहेका थिए ।