खुला |

बहुभाषिक पृष्ठलाई थप परिष्कृत बनाऔँ

गोरखापत्र समाचारदाता

धुलिखेल, फागुन २७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले गोरखापत्रमा प्रकाशित हुँदै आएको ‘नयाँ नेपाल’ बहुभाषिक पृष्ठहरूलाई थप परिष्कृत गर्न मन्त्रालय तयार रहेको बताउनुभएको छ । वि.सं. २०६४ असोज १ गतेबाट राष्ट्र भाषामा प्रकाशन सुरु गरेको गोरखापत्रले हाल ३८ भाषामा सामग्री प्रकाशन गर्दै आएको छ ।

गोरखापत्र संस्थानले बिहीबार आयोजना गरेको ‘नयाँ नेपाल पृष्ठ संयोजक र सहसंयोजकको कार्यशाला गोष्ठी’लाई सम्बोधन गर्दै सचिव डा. अर्यालले समावेशी भाषाको पृष्ठलाई थप परिष्कृत गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । सचिव अर्यालले भन्नुभयो, नेपालको इतिहास र गौरव बोकेको नयाँ नेपाल पृष्ठलाई मन्त्रालय थप परिष्कृत गर्न तयार छ । यसका लागि समुदायस्तरमा पनि भाषाको प्रभावकारिताबारे सबैको सहयोगको खाँचो छ ।

उहाँले भाषा समयअनुसार परिवर्तन भइरहेको र वर्णशङ्कर भएर आइरहेकाले यसको समुदायस्तरमै संरक्षण र सम्बद्र्धन गर्न जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो, “भाषा समाजको ऐना हो तर अहिले भाषा वर्णशङ्कर रूपमा परिवर्तन भइरहेको छ, यसलाई जोगाउनुपर्ने आवश्यकता छ ।”

देशका विभिन्न भागमा बोलिने थप भाषाहरू पनि सूचीकरणका लागि आएका र गोरखापत्रमा छाप्ने अनुरोधआइरहेकाले भाषाहरूको स्तरीयता र प्रभावकारिताबारे पनि छलफल गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।नयाँ नेपालमा प्रकाशित समाचार सामग्रीहरू उक्त समुदायमा कति पहुँच राख्छ भन्ने सर्भे पनि गर्नुपर्ने समय आएको सुझाव सचिव डा. अर्यालको छ ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले नयाँ नेपाल पृष्ठ गोरखापत्रको गौरवपूर्ण इतिहास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ नेपाल बहुभाषिक पृष्ठ मात्र नभई नेपालको जातीय विविधतालाई झल्काउने र पहिचानलाई स्थापित गराउने माध्यम बनेको छ ।” कार्यकारी अध्यक्ष सुवेदीले नयाँ नेपाल पृष्ठका संयोजक र सहसंयोजक यसका सम्मानका पात्र भएको बताउँदै उहाँहरूको पारिश्रमिक उल्लेख्य मात्रामा वृद्धि गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

वैशाखदेखि नयाँ नेपाल पृष्ठ डिजिटल रूपमा समेत आउने तयारी भइरहेको सूचित गर्दै उहाँले भाषाको गुणस्तरीयता र समुदायमा पहुँच पु-याउन गोरखापत्र संस्थान थप अध्ययन र अनुसन्धान गर्न तयार छ भन्नुभयो । कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, “गोरखापत्रको वेबसाइट वैशाखदेखि नयाँ स्वरूपमा आउँदैछ, जसमा नयाँ नेपालको पनि डिजिटल भर्सनमा समाचारहरू प्रकाशन हुने व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।”

यसैगरी गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईले नयाँ नेपाल बहुभाषा पृष्ठ गोरखापत्रको गहना भएको बताउनुहुँदै यसले विविधतायुक्त नेपाललाई प्रतिबिम्बित गरेको धारणा राख्नुभयो ।यस्तै तामाङ भाषाका पृष्ठ संयोजक अजितमान तामाङले राज्यले मातृभाषालाई जोगाउन समुदायस्तरका भाषाको पृष्ठ पु¥याउन पहल गर्न र भाषा संयोजकहरूको पारिश्रमिक र परिचयपत्र उपलब्ध गराउन आग्रह गर्नुभयो ।

कार्यशालामा दी राईजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलिया, गोरखापत्रका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत, भाषा पृष्ठ संयोजक कुमार विवेकानन्द मिश्र, पृष्ठ संयोजक तथा सहसंयोजकलगायतको सहभागिता छ । गोष्ठी दुई दिनसम्म सञ्चालन हुनेछ ।