खुला | फोटो फिचर |

संघीयता बलियो बनेमात्र अन्य क्षेत्र मजबुत हुन्छ : सञ्चारमन्त्री साह

देवरामप्रसाद यादव
सप्तरी, फागुन २९ गते । मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीयता बलियो भएमात्र सबै क्षेत्र मजबुत हुने बताउनुभएको छ । सप्तरीको राजविराजमा आइतबार संचारमाध्यम र पत्रकार आचारसंहिता निर्माणसम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।

मधेश सरकार आन्तरिक मामिला तथा संचार मन्त्रालय मिडिया काउन्सिल मधेश प्रदेश जनकपुरधामद्वारा आयोजित कार्यक्रममा मन्त्री साहले संघीयताको पक्षमा पत्रकारलाई कलम चलाउन आग्रह गर्नुभयो । देश विकासको मेरुदण्ड संघीयता प्रणाली भएको जिकिर गर्नुहुदै मन्त्री साहले संघीयता बलियो बनाउन सबै क्षेत्रको योगदान आबश्यक रहेको बताउनुभयो ।

उहाँले संचार मन्त्रालयले सञ्चारमाध्यम र पत्रकारको विकासका लागि सञ्चार ऐन निर्माणको क्रममा रहेको बताउदै ऐनमा प्रदेशको स्रोत र साधनले भ्याएसम्म सञ्चार माध्यमलाई ब्यबस्थापन गर्दै पत्रकारको सेवा सुबिधा बढाउने नीति अघि सरिसकिएको बताउनुभयो । मन्त्री साहले राम्रो काम गर्नेलाई पुरस्कृत र पित पत्रकारिता गरी जनताको भावनामा कालोपोत्ने पत्रकार र सञ्चारमाध्यमलाई दण्डित गर्नेसम्मको ऐना बन्ने उल्लेख गर्नुभयो ।

आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुवीकुमारी कर्णले दलगत प्रयोजनको रुपमा बजेट दुरुपयोग हुन नदिने बताउनुभयो । पत्रकारितालाई मर्यादित र अनुशासित बनाउन सरकारकोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । प्रदेश आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारका लागि स्वास्थ्य विमा दुर्घटना विमा लगायतका सुबिधाको काम अगाडि बढेको बताउनुभयो ।

सो अवसरमा उहाँले एक लाख रुपियाँसम्मको स्वास्थ्य विमा, ७ लाख सम्मको दुर्घटना विमा २ करोडसम्मको लोककल्याणकारी विमा स्थापनाको काम अन्तिम चरणमा रहेको बताउनुभयो । प्रेस प्रतिनिधि परिचयपत्र दिने र संचार माध्यमको नवीकरण गर्ने कार्य अब मधेश सरकारले नै गर्ने उहाँले बताउनुभयो ।