वंशानुगत र मानसिक कारण : चिकित्सक; व्यावहारिक र सामाजिक कारण : प्रहरी
काठमाडौं, फागुन ३० गते । गत मङ्गलबार काठमाडौंको नागार्जुन–६ रामकोट डाँडापौवामा भएको सामूहिक विष सेवन घटनामा सुसाइड नोट भेटिएको थियो । प्रहरीका अनुसार काठमाडौं–१५ डल्लु स्थायी घर भएका पाँच जनाको परिवार रामकोटमा डेरा गरी बस्दै आउनुभएको थियो । घटनामा ३८ वर्षीय भीममान प्रधान, ६२ वर्षीया आमा इन्दिरामाया, ३५ वर्षीया श्रीमती मन्दिरा प्रधान, ११ वर्षीया छोरी सुप्रिना र ३३ वर्षीय भतिज सुवर्णमान प्रधानले सोमबार राति विष सेवन गरेको पाइएको थियो ।
विष सेवनअघि सबैले ‘आत्महत्या गर्न लागेको’ भन्दै केही आफन्तलाई ‘सुसाइड नोट’ पठाएको खुलेको छ । आफन्त र प्रहरी डेरामा पुग्दा छुट्टाछुट्टै कोठामा उहाँहरु बेहोस अवस्थामा भेटिनुभएको थियो । प्रहरीले तत्काल मनमोहन मेमोरियल अस्पताल सीतापाइला उहाँहरुलाई पुर्याए पनि सुवर्णमानको मृत्यु भएको थियो ।
बाँकी चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीका अनुसार घटनास्थलबाट औंठा छापसहितको सात पेजको सुसाइड नोट भेटिएको थियो । त्यसको बारेमा अध्ययन भइरहेको छ ।
यस्तै, गत मङ्सिर १ गते डोटीमा एक दम्पतीले घरनजिकै झुण्डिएर आत्महत्या गर्नुभएको थियो । जिल्लाको शिखर नगरपालिका–१ का २२ वर्षीय डिल्लीराज भट्ट र उहाँकी पत्नी २० वर्षीया पशुपति भट्ट मङ्गलबार साँझ घरभन्दा तल रुखमा झुण्डिएको अवस्थामा मृत भेटिनुभएको थियो ।
दैलेखमा अर्को यस्तै घटना भएको थियो । चार सन्तानसहित कर्णाली नदीमा हाम फालेर ३५ वर्षीया सुकी बडुवालले सामूहिक आत्महत्या गर्नुभएको थियो । सुकी आफू, तीन छोरी र एक छोरासहित पाँच जनाले २०७७ फागुन २४ गते विहान कर्णालीमा हाम फाल्दा ज्यान गएको थियो ।
सुकीका छोरीहरु १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवाल, सात वर्षीया रोशनी र १० वर्षीय छोरा ललित बडुवालको समेत घटनामा ज्यान गएको थियो । यी त प्रतिनिधि घटना मात्रै हुन् ।
नेपालमा नौ महिनामा एक हजार ९६८ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्क छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा मात्रै आत्महत्याको मुद्दा तीन हजार ६६८ वटा परेको छ । जसमा एक हजार ९६८ जनाले आत्महत्या गरेको देखिएको छ । आत्महत्या गर्नेमा सबैभन्दा बढी महिलाको सङ्ख्या १२४३ अर्थात् ६३.१७ प्रतिशत देखिएको छ ।
त्यसपछि पुरुषको सङ्ख्या ३४५ अर्थात् १७.५३ प्रतिशत छ । आत्महत्या गर्ने बालिकाको सङ्ख्या २३२ अर्थात् ११.७८ प्रतिशत र सबैभन्दा कम बालकको सङ्ख्या १४८ अर्थात् ७.५२ प्रतिशत रहेको छ । यसमा विष खाएर, आगो लगाएर, झुण्डिएर, हातहतियाबाट, हाम फालेर, करेन्ट लगाएर, डुबेर, आत्महत्या दुरुत्साहनमा परेर आत्महत्या गरेको देखिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी वरिष्ठ उपरीक्षक विष्णुकुमार के.सीका अनुसार मानिसले सामूहिक आत्महत्या गर्ने विभिन्न कारण हुन्छ । जस्तै, शारीरिक, मानसिक, व्यावहारिक र सामाजिक जसले मानिसलाई आत्महत्या गर्न बाध्य बनाउँछ ।
शारीरिक कारण : शारीरिक कारण पनि मानिसहरु आत्महत्या गर्ने गरेको पाइएको छ । यसमा शरीरसम्बन्धी समस्याहरु हुन सक्छ । जस्तै कुनै रोग लाग्यो लामो समयसम्म उपचार गराउँदा पनि निको भएन भने मानिसको बाँच्ने आशा मर्छ । र, अन्त्यमा दिक्क मानी देहत्याग गर्छन् ।
मानसिक कारण : मानसिक कारणले पनि मानिसले आत्महत्या गर्छ । यसमा पागलपन प्रमुख उदाहरण हो । जुन बेला उसलाई होस आउँछ । उसले आफ्नो अवस्था देखेर सहन नसकी आत्महत्या गर्न बाध्य हुन्छ ।
व्यावहारिक कारण : व्यावहारिक कारणले पनि धेरैजसो मानिसले देहत्याग गरेको पाइन्छ । यसमा मानिसको दैनिक व्यवहार जस्तो ऋण, धनको समस्याले ग्रस्त मानिसले पनि आत्महत्या गरेको देखिन्छ ।
सामाजिक कारण : सामाजिक कारण जसमा रीतिरिवाज, समाजले गर्ने व्यवहारबाट दिक्क भएर पनि मानिसले आत्महत्या गर्छ । सानै उमेरमा विवाह भएर आमा बन्दा भोग्ने समस्या थेग्न नसक्नु, बोक्सीको आरोप खेप्नु, गलत व्यवहारले समय–समयमा बेइज्जत हुँदा सहन नसकेर धेरैले आत्महत्या गरेको देखिन्छ ।
आर्थिक समस्या र परिवारिक बेमेल सामूहिक आत्महत्याको प्रमुख कारणको रुपमा रहेको प्रवक्ता के.सी.को भनाइ छ । उहाँका अनुसार सामूहिक वा एकल आत्महत्या गराउन दुरुत्साहन गरेको ठहरियो भने मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार कारबाही हुन्छ ।
मानिस समस्याको समाधानतिर नलागेर आत्महत्याको बाटो रोज्छन् । ‘त्यो विना बाध्यता कसैले गर्दैन, तर पनि आत्महत्या गर्नु आफैँमाथि गरेको ठूलो अपराध हो,’ उहाँले भन्नुभयो,‘जुन कुनै समस्याको सामाधान होइन ।’ आर्थिक विपन्नता, गरिबी, बेरोजगार, विभिन्न रोग, तनाव र असफलता जस्ता कारणले मानिसले आत्महत्या गर्छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल का मनोचिकित्सक डा.पूजन शर्माकाअनुसार आत्महत्या गर्नुको खास निश्चित कारण हुँदैन । वंशानुगतरुपमा कुनै परिवारमा अभिभावकले आत्महत्या गरेको छ भने बच्चाले पनि गर्न सक्छ ।
रोगले ग्रसित मानिसहरु आत्महत्या गर्ने सम्भावना बढी हुन्छ । लामो समयसम्म दीर्घरोग भएका बिरामीहरु, चोट लागेर समस्या भएका व्यक्तिहरु, काममा आएको रोकावट र पढाइजस्ता कारणले मानिसले आत्महत्या गर्ने हुन्छ । उहाँका अनुसार आत्महत्या गर्नेमा वंशानुगत, मानसिक र केही मनोवैज्ञानिक पक्षहरु जोडिएका हुन्छन् । ७० प्रतिशत मानिस मानसिक समस्याकै कारण आत्महत्या गर्छन्।
मानिसले आत्महत्या गर्नुअघिका सङ्केतलाई पहिचान गर्न सकेमा धेरैको ज्यान जोगाउन सकिन्छ । नेपालमा तीन–चार वटा आत्महत्या निवारणका लागि सञ्चालित हेल्प लाइनहरु छन् । ती हेल्पलाइनको पहुँचमा मात्रै पुग्न सक्यो भने पनि केही हदसम्म बच्न सकिने हुन्छ ।
आत्महत्या गर्नुभन्दा पहिले मानिसमा विभिन्न सङ्केतहरु देखिन्छ । उसलाई सुत्न मन पर्दैन । एकोहोरिन्छ आफूसँग भएको सामान अरुलाई दिन्छ । निराशा प्रकट गर्छ । त्यसको नजिकको मानिसले बुझ्नुपर्ने हुन्छ । त्यो व्यवहार मात्रै बुझ्न सके पनि ज्यान जोगाउन सकिने उहाँको भनाइ छ ।