स्वरोजगारका लागि व्यवसायमा आकर्षित हुँदै युवा
प्रतीक इच्छुक शमा
सल्यान, फागुन ३० गते । पछिल्लो समय ग्रामीण युवा व्यावसायिक पशुपालनमा आकर्षित हुन थालेका छन् । कोरोनाले रोजगारी गुमाएका र अन्य काम छाडेका युवाहरु आम्दानीको स्रोत बढाउन कुखुरापालन र कालिज पालनमा जुटेका हुन् ।
कुखुरा र कालिज पालन व्यवसाय शुरु गरेपछि युवाहरु आत्मनिर्भर हुँदैगएको बताएका छन् । शारदा नगरपालिका ४ रातामाटाका २२ वर्षीय लालबहादुर कुमाईले ६ लाख रुपियाँ लगानी गरेर कुखरा पालन शुरु गर्नुभएको छ । कुनै बेला कुखरा बेच्न खलंगा सदरमुकाम धाउनुपर्ने बाध्यता अहिले उहाँलाई छैन । घरमै कुखरा लैजान ब्यापारीहरु आउनेगरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्थानीय र लेस जातका चार सय कुखुरापालन व्यवसायबाट घर खर्च चलाउन सजिलो भएको छ ।”
कुमाख गाउँपालिका ३ मर्मका २१ वर्षीय लक्ष्मण बुढामगरले व्यावसायिक कालिज पालन शुरु गर्नुभएको छ । आइएसी एजी (कृषि विज्ञान) मा अध्ययन गर्नुभएका उहाँले श्रीनगर बजार नजिकै जग्गा भाडामा लिएर २३ लाख रुपियाँ लगानीमा कालिज पालन गर्नुभएको बताउनुभयो ।
बिएसी एजी पढ्न काठमाडौं गएका बेला कोरोना महामारीका कारण शिक्षण संस्था बन्द भएपछि उहाँ यो व्यवसायमा लागेको बताउनुभया । उहाँले भन्नुभयो “उपभोक्तालाई कालिजको मासु उपलब्ध गराउन र चल्ला उत्पादन गर्ने लक्ष्यकासाथ फार्म सञ्चालनमा ल्याएका छौं ।”
पशु अस्पताल तथा पशु सेवा कार्यालयकाअनुसार कुमाई र बुढाजस्तै व्यावसायिक पन्छीपालनमा लाग्नेको संख्या सल्यानमा १ सय ९७ पुगेको छ । थोरै लगानी बाट व्यवसाय सुरु गर्न सकिने, छोटो समयमा फाइदा लिन सकिने र बजारको समस्या नभएका कारण पछिल्लो समय अन्य कृषकभन्दा युवाको संख्या यो व्यवसायमा बढी देखिएको उहाँहरुको भनाई छ । कुखुराको मासु र अण्डामा आत्मनिर्भर बन्दै गइरहेको सल्यानमा वार्षिक ४ लाख किलोभन्दा बढी कुखुरा उत्पादन हुनेगरेको व्यवसायीको भनाइ छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कपिलप्रसाद उपाध्यायले कोरोना भाईरसका कारण रोजगारी गुमाएका धेरै युवालाई व्यवसायमुलक काममा युवाको आकर्षण बढेको बताउनुभयो । उहाँकाअनुसार पंक्षीपालन व्यवसायिक सुरुवातले स्वरोजगार बृद्धिमा टेवा पुगेको छ ।
पशुपालन उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रवद्र्धन कार्यक्रम अघि वढाएको छ । अघिल्नो वर्षजस्तै यस वर्ष पनि पशु नश्ल सुधार, दुध उत्पादन प्रवर्धनका कार्यक्रम सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा ५ करोड ६० लाख रुपियाँ बराबरका कार्यक्रम सल्यानमा सञ्चालन गरिएको उहाँहरुको भनाइ छ ।