खुला |

वसन्तपुर दरबार क्षेत्रमा कङ्क्रिट संरचना निर्माण नगर्न काँग्रेसको माग

काठमाडौँ, चैत १ गते। काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले वसन्तपुरमा निर्माण गरिएका कङ्क्रिटका संरचना भत्काउन अग्रसरता लिनु भएको छ। उपप्रमुख खड्गीले मङ्गलबार वसन्तपुर डबलीमा बनाइएका संरचनाको अवलोकनपछि गोरखापत्रसँग कुरा गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रमा कङ्क्रिटका संरचना निर्माण गर्न नहुने बताउनुभएको हो।

खड्गीले यस विषयमा महामगरका प्रमुख विद्यासुन्दर शाक्यसँग छलफल गर्ने बताउनु भयो। यसैबीच, नेपाली काँग्रेस काठमाडौँ महानगर समितिले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरबार क्षेत्रमा कङ्क्रिटको संरचना निर्माणकार्य रोक्न माग गरेको छ। काँग्रेस महानगर सभापति निलकाजी शाक्यको नेतृत्वमा वसन्तपुर क्षेत्रमा काँग्रेसले सांकेतिक विरोध प्रदर्शन पनि गरेको छ।

काँग्रेस काठमाडौँ महानगर समितिका सचिव ‌ई. सुसन वैद्यले राष्ट्रिय झण्डा राख्ने बताउँदै रातारात तयार पारेको कङ्क्रिट जग निर्माणकार्य रोक्न माग गर्दै साङ्केतिक विरोध गरिएको बताउनुभयो। वैद्यका अनुसार महानगर समितिका उपसभापति एवम् काल संस्कृति सम्पदा संरक्षण विभागका संयोजक सन्तकुमार महर्जनको नेतृत्वमा काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुखलाई निर्माणकार्य रोक्न पत्र बुझाइएको छ।

सचिव वैद्यले काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले सम्पदामाथि धावा बोलेको बताउनु भयो। उहाँले भन्नुभयो, “रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरबाट शुरु भएको मयेरको कङ्क्रिट मोह रानीपोखरीलाई पूर्णरुपमा कङ्क्रिटको प्रयोग गरी स्वीमिङ पुलको रुपमा परिणत गर्ने, पुरातात्विक महत्त्व बोकेको बाघ दरबारलाई भत्काएर कङ्क्रिटको आधुनिक भवन बनाउनेदेखि कमल पोखरी र अहिले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा कङ्क्रिटको प्रयोग गरी प्राचीन समारक सङ्रक्षण ऐन २०१३ को खुला उल्लङ्घन भएको छ।”

उहाँले सम्पदा संरक्षणका लागि अहोरात्र लागि परेका सम्पदा संरक्षण अभियन्ताहरूकै कारण काठमाडौँका सम्पदा संरक्षण भएको बताउनु भयो। विश्व सम्पदा सूचीमा सूचीक्रित काठमाडौँ वसन्तपुर दरबार क्षेत्रमा पर्यटक झण्डा हेर्न नआउने बताउँदै सचिव वैद्यले नेपालको अभूतपुर्व सौन्दर्य र कलाकृति हेर्न आउने बताउनुभयो। काँग्रेस नेता राजुराज जोशीले सम्पदा संरक्षणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो।