खुला |

दश किलो सडेको मासु बरामद

बाबुराम शर्मा
चरीकोट, चैत १ गते । दोलखाको सदरमुकाम चरिकोट बजारमा सञ्चालित एक मासु पसलमा दश किलो सडेको मासु बिक्री गर्न राखेको पाइएको छ ।

भीमेश्वर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र समेतबाट खटिएको बजार अनुगमन टोलीले सडेको मासु बिक्री गर्न राखेको अवस्थामा पाएको हो ।

अधिकृत माधवप्रसाद सुवदीका अनुसार अनुगमन टोलीले यहाँका चार वटा मासु पसलमा निरीक्षण गर्दा कसौडी नामक मासु पसलबाट १० किलो सडेको कुखुराको मासु बिक्रीका लागि राखेको पाएको हो । बरामद गरिएको मासु खाल्डोमा पुर्ने काम गरिएको छ ।

स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७६ को दफा ३० को कसुर अनुसार एक हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको बजार अनुगमन अधिकृत सुवदीले जानकारी दिनुभयो ।

गत असोज महिनामा पनि अनुगमन टोलीले चरिकोटका मासु पसलमा बिक्री गर्नका लागि राखिएका राँगाकोे मासु र खसीको सडेको ३० केजी मासु बरामद गरेको थियो । उनीहरुलाई एक हजार रुपियाँ जरिवाना गरिएको थियो ।