तामाङ घेदुङको अध्यक्षमा मोहन गोले तामाङ निर्वाचित
गोरखापत्र अनलाइन
काठमाडौँ, चैत २ गते । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट मोहन गोले तामाङ निर्वाचित हुनुभएको छ । उहाँ चार सय एक मतसहित अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
राजधानीमा आयोजित तीन दिने महाधिवेशनमा अध्यक्ष र सचिव पदका लागि मात्र निर्वाचन भएको थियो । बाँकी पदका लागि पदाधिकारीहरू सहमतिमा चयन हुनुभयो । अध्यक्ष गोले र सचिवहरू जयमान वाइवा, बेलबहादुर तामाङ र गोमानसिंह तामाङ निर्वाचित हुनुभयो । निर्वाचन समितिका संयोजक केएल योञ्जनले बुधवार मतपरिणाम सार्वजनिक गर्दै घेदुङको सहअध्यक्षमा कुमार घिसिङ, वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन तामाङ निर्विरोध चयन हुनुभएको जानकारी दिनुभयो ।
त्यसैगरी ७ उपाध्यक्षहरुमा नरबहादुर मोक्तान, सोम्बले तामाङ धर्म डुम्जन, दीपक तामाङ, मानबहादुर तामाङ, सञ्चु ब्लोन र सीता तामाङ पनि निर्विरोध चयन हुनुभयो । महासचिवमा काजीमान थिङ र उपमहासचिवमा जगतमान लामा दोङ र हर्कमान तामाङ निर्विरोध चयन हुनुभयो ।
महिला सचिवमा बिनाकुमारी मम्बा, कोषाध्यक्षमा रुपबहादुर योञ्जन र सहकोषाध्यक्षमा सावित्री तामाङ निर्विरोध चयन हुनुभएको घेदुङले जनाएको छ ।